अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं ६ र ७ लालपुरका स्थानियहरुको घर घरमा शुद्ध खानेपानी पुञ्याउन थालिको छ ।
गर्मीको समयमा खडेरीले गर्दा सधै खानेपानी हाहाकार मञ्चिने गोदावरी नगरपालिका वडा नं ७ टेकुलामा निर्माणाधिन श्रीपुर खानेपानी आयोजनाले स्थानियहरुको घर घरमा शुद्ध खानेपानी पुञ्याउन थालेको हो ।
१५ बर्ष डिजाईन अबधि रहेको श्रीपुर खानेपानी आयोजनाको आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एक भब्य समहारोका बिच उद्धघाटन गरेका हुन् । संघिय सरकार मार्फत निर्माण गरिएको उक्त आयोजना सोहि कार्यक्रममा श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिलाई हस्तान्तरण गरिएको थियो ।
२०७१ सालमा सुरु भएको खानेपानी आयोजनाले वडाबासीलाई यसै बर्षदेखी पानी बितरण गर्न सुरु गरेको श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सचिब खम्ब बुढाले जानकारी दिए । उनका अनुसार ८ करोड ५१ लाख ७९ हजार कुल लागत रहेको सो आयोजनामा अहिले सम्म ५ करोड २० लाख रुपैया खर्च भैसकेको छ ।
सो योजना मार्फत १ हजार ४ सय ७५ घरधुरीका ९ हजार ९ सय ३० जना लाभान्बित हुने उनले बताए । खानेपानी आयोजना अन्र्तगत २ लाख २५ हजार लिटर क्षमताको ट्याङ्की, २ वटा डिलिङ डिपट्युबेल , २ वटा भवन , ८ वटा भल्व च्याम्बर र ४९ दशमलव ८० किलोमिटर पाईप विस्तार गरिसकेको सचिब बुढाले बताए ।
अहिले ७ सय ५० घरधुरीमा धारा जडान गरिसकिएको बताउदै उनले बिस्तारै सबै घरधुरीलाई खानेपानीको पहुचमा पुञ्याइने जानकारी दिए । यसमा वडा नं ७ का सबै र वडा नं ६ का आधा स्थानियहरु लाभान्बित हुने उनले बताए ।
श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष वोगटीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट रहेका थिए भने बिशिष्ट अतिथिमा समाजिक विकास मन्त्री कृष्ण राज सुवेदी रहेका थिए ।
कार्यक्रममा प्रदेश सांसद चुन कुमारी चौधरी, स्थानिय तहका जनप्रतिनिधि, खानेपानी कार्यालयका कर्मचारी बिभिन्न संघसस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । खानेपानी कार्यालयका सह व्यवस्थापक तारा अधिकारीले स्वागत मन्त्यव्यवाट सुरु भएको कार्यक्रमको संचालन समितिका सचिव बुढाले गरेका थिए ।
घरैमा शुद्ध पानी पाएपछि स्थानियहरु निकै खुसी
घरैमा शुद्ध पानी पाएपछि स्थानियहरु निकै खुसी भएका छन् । स्थानिय महिला तारा देवी जोशीले बिगतका दिनमा आफुहरुले पानी नपाउदा निकै दुख कष्ट झेलेपनि अहिले भने घरकै आगनमा खानेपानीको घारा जडान गरेपछि चौबिसै घण्टा पानीको सुबिधा पाएको बताइन् ।
उनले आफ्ना बिगतका तिता अनुभवहरु सुनाउदै जेठ बैशाखको गर्मी महिनामा खानका लागि देखी लिएर लुगाकपडा , भाडाँकुडा धुनका लागि बिहानै उठेर आसपासमा रहेका कुवाहरुमा जानुपर्ने बाध्याता रहेको बताइन् ।
तराईमा आएपनि हामीलाई पहाडका जस्तै पानीका दुख हुन्थ्यो , बिहानै उठेर हामी सबै टाढा टाढा रहेका कुवा तथा आटिजन धाराहरुमा गएर लामबद्ध भएर बस्थ्यौ उनले भनिन् अहिले भने घरैमा खानेपानीको धारा पुगेको छ हामी एकदमै खुसी छौ ।