अत्तरिया - कैलालीको गोदावरी नगरपालिकामा पनि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान सुरु भएको छ ।
सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा हात्तिपाईले रोग निवारण भएपनि कैलाली जिल्लामा अझै निवारण हुन नसकेपछि गोदावरी नगरपाालिका सहित जिल्लाभर आज देखी नवौ पटक हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान सुरु गरिएको हो ।
पहिला गोदावरी नगरपालिका कार्यापालिका सदस्य ईश्वरा आचार्यले औषधि खादै अभियानको सुरुवात गरेकी हुन् ।
गोदावरी नगरपाकिला स्वास्थ्य शाखा प्रमुख बिर बहादुर कुबरका अनुसार १२ ओटै वडाका रहेका शहरी स्वास्थ्य क्लिनिक ,सरकारी अस्पताल र स्वास्थ्यकर्मीहरुले तोकेका केन्द्रहरुवाट औषधी खुवाउने काम सुरु भएको बताए ।
अभियान अन्र्तगत आज पहिलो दिन करिब १० हजारले औषधी खाएको स्वास्थ्य शाखाकी उषा भट्टले जनाकारी दिइन् । उनले नगरपालिकाभरीको औषधी खुवाएको तथ्याङ्क अनुसार ९ हजार ८ सय ४० जनाले औषधी सेवन गरेको बताइन् ।
गोदावरी नगरपालिकामा ९१ हजार ६ सय ३९ जनालाई हात्तीपाइले औषधी खुवाउने लक्ष्य रहेको छ । औषधि खुवाउनका लागि नगरपालिका भरी १०५ जना महिला स्वास्थ्य स्वयम सेविका र ८० जना स्वास्थ्यकर्मीहरु परिचालन गरिने स्वास्थ्य शाखाले जनाएको छ ।
सुरुमा स्वास्थ्यकर्मीहरुले स्थानिय सरोकारवालाहरुसंगको समन्ब्य र परामर्शमा तोकिएको नजिकका केन्द्रहरुवाट औषधी खुवाइने र त्यसमा छुटेकाहरुलाई पछि घर घरमै गएर पनि औषधी सेवन गराउने गरी तयारी भएको प्रमुख कुवरले बताए ।
हात्तीपाइले रोग निवारणको यस अभियानमा सबैलाई आ आफ्नो पाइक पर्ने स्थानमा गएर औषधी सेवन गर्न उनले आग्रह गरेका छन् ।
विश्व स्वास्थ्य सङ्गठनसँगै नेपालले पनि सन् २०३० सम्म औषधि सेवनमार्फत यस रोगलाई निवारण गर्ने लक्ष्य लिएको छ ।
हात्तीपाइले विरुद्धको औषधिले असर गर्छ भन्ने भ्रमका कारण धेरैले औषधि खान नमान्दा अभियान प्रभावकारी हुन सकेको छैन ।