अत्तरिया - ईलाका प्रहरी कार्यालय मालाखेतीले जवरजस्ती करणी उधोगको घटनाका बिषयमा पिडित पक्षलाई दिनुपर्ने सुचना लुकाएको आरोप लागेको छ ।
कैलालीको गोदावरी नगरपालिकामा गत मंसिरमा एक महिला माथि भएको जवरजस्ती करणी उधोगको घटनाका बिषयमा जिल्ला प्रहरी कार्यालय कैलालीवाट प्राप्त भएको सुचना पिडित पक्षलाई जानकारी नगराई लुकाएको आरोप लागेको हो ।
जिल्ला अदालत कैलालीले जवरजस्ती करणी उधोग मुद्धामा वादी पक्षका सरकारी साक्षीहरुलाई बकपत्रका लागि यही चैत १८ गते जिल्ला सरकारी वकिल कार्यालय मार्फत उपस्थित गराउन भनि पठाएको पत्र चैत २ गते जिल्ला प्रहरी कार्यालय कैलालीले बुझेर ईलाका प्रहरी कार्यालय मालाखेतीलाई पठाएको भएपनि १८ गते सम्म पनि आफुहरुलाई सो बिषयको सुचना नदिएर लुकाएको पिडित पक्षले बताएका छन् ।
अदालतवाट जानकारी पाएर जिल्ला प्रहरी कार्यालय कैलालीलाई खबर गरेपछि मात्रै आफुलाई खबर आएको पिडित महिलाले बताएकी छन् । जवरजस्ती करणी उधोग जस्तो जघन्य अपराधमा पनि प्रहरीले गम्भिर लापरबाही गर्दै आफुहरुलाई झन कमजोर पार्न खोजिएको ति महिलाले बताइन् ।
आफुहरुले अदालतमै गएर बुझेपछि मात्रै सो बिषयमा ईलाका प्रहरी कार्यालयवाट जानकारी आएको बताउदै उनले प्रहरीवाट भएको यस्तो गम्भिर लापरबाहीले आफुलाई साक्षीहरु जुटाउन पनि समस्या भएको जानकारी दिइन् ।
२ गते आएको सुचना १८ गते सम्म पनि हामीलाई जानकारी भएन , किन प्रहरी पनि पिडितको पक्षमा छैन पिडितकी आमाले भनिन् हामीले यदी जानकारी नपाएको भए के हुन्थ्यो । यस बिषयमा जिल्ला प्रहरी कार्यालयमा बुझ्दा जिल्लामा प्राप्त सुचना ईलाका प्रहरी कार्यालय मालाखेतीलाई २ गते नै इमेल मार्फत पठाइएको बताएको छ ।
यता ईलाका प्रहरी कार्यालय मालाखेतीले यस बिषयमा आफुहरुवाट केही कमजोरी नै भएको स्विकार गरेको छ । पिडित पक्षलाई सुचना दिनका लागि फाँटवाट एक जना प्रहरीलाई जिम्मेवारी दिएको भएपनि के कति कारणले सुचना दिन ढिलो भएको भन्ने बिषयमा आफुले सोधपुछ गर्ने काम गरिरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले प्रहरी प्रमुख डिएसपी प्रेम शाहीले जानकारी दिए ।
सुचना लुकाएको भने भन्न नमिल्ने बताउदै उनले यसमा कहाँवाट कमजोरी भयो भन्ने बिषयमा स्पष्टिकरण सोध्ने काम भैरहेको बताए ।
आगामी दिनहरुमा पनि यस्ता कमी कमजोरी हुन नदिन सबै प्रहरीलाई निर्देशन दिएको बताए ।