अत्तरिया - कैलालीमा चैत २० गते अर्थात भोली देखी हात्तीपाइले रोग बिरुद्धको आम औषधी सेवन अभियान सुरु हुदैछ ।
सुदूरपश्चिमका ८ वटा जिल्लाहरुमा हात्तीपाइले रोग निवारण भए पनि कैलालीमा भने अहिले सम्म पनि निवारण हुन नसकेको अबस्थामा ९ औं चरणको हात्तीपाइले बिरुद्धको आम औषधी खुवाईने अभियान सुरु हुने लागेको हो ।
जिल्लाका १३ वटै स्थानीय तहहरुमा चैत्र २० गते देखि बढीमा १० दिन सम्म सो अभियान संचालन हुने छ ।
यसैबिच गोदावरी नगरपालिकामा ९० हजार बढीलाई सो आम औषधी खुवाईने भएको छ । गोदावरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख बिर बहादुर कुबंरका अनुसार भोलीदेखी सुरु हुने अभियानमा गोदावरी नगरपालिकाका १२ ओटै वडाका ९१ हजार ६ सय ३९ जनालाई हात्तीपाइले औषधी खुवाउने लक्ष्य रहेको छ ।
औषधि खुवाउनका लागि नगरपालिका भरी १०५ जना महिला स्वास्थ्य स्वयम सेविका र ८० जना स्वास्थ्यकर्मीहरु परिचालन गरिने उनले बताए । यसका लागि सम्पूर्ण स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम सेविका तालिम समेत दिइसकेको उनले बताए ।
सुरुमा स्वास्थ्यकर्मीहरुले स्थानिय सरोकारवालाहरुसंगको समन्ब्य र परामर्शमा तोकिएको नजिकका केन्द्रहरुवाट औषधी खुवाइने र त्यसमा छुटेकाहरुलाई पछि घर घरमै गएर पनि औषधी सेवन गराउने गरी तयारी भएको प्रमुख कुवरले बताए ।
'हामीले औषधी खुवाउनका लागि तोकेका स्वास्थ्यकर्मीहरुले स्थानिय सरोकारवालाहरुसंग परामर्श गरी प्रत्येक वडामा ३ वटा समूह बनाएका छन् , अब ति समूह मार्फत सबैलाई समेट्ने गरी औषधी खुवाइन्छ उनले भने - 'नगरपालिका भित्र रहेका १० वटा स्वास्थ्य केन्द्र र सरकारी अस्पतालहरुमा सहित यस क्षेत्रका निजि अस्पतालहरुवाट पनि औषधी खुवाइने छ ।'
उनले यस अघि ८ औ पटक सम्म औषधी खुवाउदा गोदावरी नगरपालिका सहित कैलाली जिल्ला अहिले सम्म पनि सरकारको लक्ष्य अनुसार हात्तीपाइले निवारण हुन नसकेकाले नवौं चरणको यस अभियानमा सबै नगरबासीलाई सहभागी भैदिन आग्रह गरे ।
खाली पेटमा सेवन गरेमा कसै कसैलाई वाक वाकी लाग्ने, बान्ता हुने, रिगटा लाग्ने हुन सक्छ । खाना खाएर वा नास्ता खाएर औषधीको सेवन गर्नु पर्ने बताईएको छ । दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, सात दिन सम्मका सुत्केरी र सिकिस्त बिरामीले औषधी सेवन गर्न नहुने स्वास्थ्य शाखा प्रमुख कुबरले बताए ।
हात्तीपाइले रोगलाई निवारण गर्न सम्पूर्ण नगरबासीहरुले आ–आफ्नो पायक पर्ने स्थानमा गएर औषधी सेवन गरि सहयोग गर्न उनले अनुरोध गरेका छन् । विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म आम औषधी सेवन मार्फत विश्वबाट यस रोगलाई निवारण गर्ने लक्ष्यका साथ काम गरिरहेको छ ।