आज अप्रिल १ अर्थात अप्रिल महिनाको पहिलो दिन । यो दिनलाई विश्वका अधिकांश मुलुकहरुमा अप्रिल फूल डे अर्थात मुर्ख दिवसको रुपमा मनाउने गरिन्छ । तर यो दिवस विश्व्का कुनै पनि मुलुकमा औपचारिक रुपमा भने मनाइएको पाइँदैन ।
आजको दिन एक अर्कालाई हानी नपुर्याई मुर्ख बनाएर मनाइने चलन छ । त्यसैले अप्रिल १ लाई मजाक गर्ने दिवसका रुपमा पनि लिइन्छ । अप्रिल फूल किन र कहिलदेखि मनाउन थालियो भन्ने वास्तविक तथ्यांक छैन ।
यद्यीप, मध्यकालमा यूरोपका धेरै सहरहरूमा २५ मार्चदेखि नयाँ वर्ष मनाउन थालिन्थ्यो, जुन अप्रिल १ मा अन्त्य हुन्थ्यो । तर, जसले १ जनवरीलाई नयाँ वर्षको पहिलो दिन मान्थे, उनीहरूले अप्रिल १ मा नयाँ बर्ष मनाउनेहरूलाई मुर्ख बनाउन थाले ।
सोह्रौं शताव्दीको मध्यमै जनवरी १ लाई नयाँ वर्षको पहिलो दिन मान्न थालिसकिएको थियो । तर युरोपका धेरै शहरहरूमा त्यो बेलासम्म पनि अप्रिल १ लाई नयाँ वर्षको नयाँ महिना मान्ने गरिन्थ्यो । अप्रिल १ लाई मुर्ख दिवस मनाउनुको अर्को एक कारण पनि छ ।
अंग्रेज साहित्यकार चान्सरको सन् १३९२ मा लेखिएको ‘क्यान्टरबरी टेल्स’ मा उनले ‘सिन मार्च बिगन थर्टी डेज एण्ड टु’ उल्लेख गरे ।
चान्सरको अर्थ सम्भवतः मार्च महिनाको ३२ औं दिन अर्थात अप्रिल २ पछि इङ्ल्याण्डका राजा रिचर्ड द्वितीयको ‘इन्गेज्मेन्ट’ बोहेमियाकी एनसंग भएको वर्ष दिन हुन्छ भन्ने थियो ।
तर पाठकले ३२ मार्च भन्ने बुझे । वास्तवमा मार्च महिना ३१ दिनको हुन्छ । त्यही मार्च महिनाको ३२ औं दिनलाई ‘अप्रिल फूल’ मान्न थालियो भन्ने विश्वास पनि गरिन्छ ।