काठमाण्डौ - हालसम्म देशभरका ७४ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरिएको छ ।
सरकारले रूपान्तरणकारी योजनाको रुपमा अघि सारेको कार्यक्रम अन्तर्गत सातै प्रदेशका ७४ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरिएको हो ।
सबै स्थानीय तहहरूमा तीनै तहका सरकारहरूको करिब २३ अर्बको लगानीमा औद्योगिक ग्राम स्थापना गर्ने लक्ष्य अनुसार ५६ वटा औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणका लागि प्रति औद्योगिक क्षेत्र ९२ लाखका दरले ५१ करोड ५२ लाख रकम निकासा गरिसकेको उद्योग मन्त्रालयले जनाएको छ ।
गत बर्ष घोषणा भएका सबै औद्योगिक क्षेत्रहरूलाई पूर्वाधार निर्माणका लागि रकम निकासा भैसकेको छ । यस बर्ष घोषणा गर्ने तय भएका १ सय २० मध्ये २९ वटाको घोषणा भई १३ वटाको लागि रकम निकासा भइसकको छ ।
१६ वटा स्थानीय तहसँग सम्झौता भइरहेको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखाले जनाएको छ । हाल विभिन्न १५ स्थानीय तहहरूबाट सिफारिस भई आएका १५ वटा औद्योगिक क्षेत्रको घोषणाका लागि प्रस्ताव तयार पारी मन्त्रिपरिषद् समक्ष पठाउने तयारी भएको छ ।
रकम निकासा लगेका स्थानीय तहहरूले औद्योगिक ग्रामको पूर्वाधार निर्माण अन्तर्गत जग्गा विकास, सडक, खानेपानी, विद्युत्, कम्पाउन्ड वाल लगायतका संरचना निर्माणको काम गरिरहेका छन् ।
कतिपयले संरचना निर्माण सम्पन्न गरी स्थानीय आवश्यकताको आधारमा उद्योगका लागि ब्लक निर्माणको तयारी समेत अघि बढाएको जनाएका छन् ।