अत्तरिया - सुदूरपश्चिम प्रदेशमा हालसम्म २ लाख बढी नागरिकहरुले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन् । गएको माघ देखि हालसम्म कुल २ लाख २ हजार ८ सय ८ जनाले खोप लगाएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय जनाएको छ ।
जसमा सबैभन्दा बढी कैलालीमा र सबैभन्दा कम डडेल्धुराका नागरिकहरुले खोप लगाएको मन्त्रालयले जनाएको छ ।
कैलालीमा अहिले सम्म ६३ हजार ३ सय ९७ जनालाई खोप दिइएको छ भने सबै भन्दा कम डडेल्धुरामा ११ हजार २ सय ४४ जनालाई खोप दिइएको छ ।
यस्तै कञ्चनपुरमा ३० हजार २ सय २३ , अछाममा २० हजार ५ सय ७४,दार्चुलामा १७ हजार १ सय ७९, बझाङमा १६ हजार ९ सय ७३, बैतडीमा १६ हजार १ सय ९५, डोटीमा १४ हजार ६ सय ९७, बाजुरामा १२ हजार ३ सय २६ जनाले खोप लगाएको मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।
उक्त अभियानमा पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी,महिला स्वास्थ्य स्वयंसेविका, शव व्यवस्थापन गर्ने कर्मचारी, एम्बुलेन्स चालक, दोस्रो चरणमा कर्मचारी, सञ्चारकर्मी, सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मी, जनप्रतिनिधि र तेस्रो चरणमा जेष्ठ नागरिकलाई खोप दिइएको हो ।
सुदूरपश्चिम सहित देशभरीनै गत माघ १४ गतेदेखिनै उक्त अभियान सुरु गरिएको थियो ।