बझाङ - जिल्लामा भाइरल ज्वरोको संक्रमण बढे सँगै जिल्लाका स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप बढ्दै गएको छ ।
सुरुवातमा विद्यार्थीहरूमा देखिएको भाइरल ज्वरो अहिले समुदायस्तरमा पनि देखिन थालेको छ । एक महिना अघि बझाङको साइपाल गाउँपालिका ४ मा रहेको धुली माध्यमिक विद्यालय धुली र धलौन माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि एक हप्ताका लागि विद्यालय बन्द गरिएको थियो । अहिले वित्थडचिर गाउँपालिका वडा नं ५ मा रहेको भूमिराज आधारभूत विद्यालयका विद्याथीहरुमा भाइरल ज्वरो देखा परेको छ ।
विद्यालयमा भाइरल ज्वरो फैलिए पछि पाँच दिनका लागी विद्यालय बन्द गरिएको छ । विद्यालयमा मङ्गलबार देखि एक दुई जनामा देखिएको ज्वरो बिहीबार सम्म सबै विद्यार्थीमा देखा परेको विद्यालयका शिक्षक रघुवीर महरले बताए । उनले भने, विद्यार्थीमा ज्वरो आउने, टाउको दुख्ने, बेहोस हुने, चिच्याउने, खान मन नलाग्ने जस्ता समस्या देखिएका छन् । विद्यालयमा ३५ जनालाई एकै दिन यो लक्षण देखिए पछि विद्यालयले गाउँपालिकाको शिक्षा शाखालाई जानकारी गराएर विद्यालय बन्द गराएको महरले बताए । एक हप्ता अघि गाउँपालिकाकै सुनकुडा माद्यामिक विद्यालयमा पनि विद्यालयमा बिद्यार्थिहरुमा पनि भाइरल ज्वरोको लक्षण देखा परेको थियो ।
बिद्यार्थिहरुमा पनि भाइरल ज्वरोको संक्रमण तीव्र रुपमा फैलिएपछि विद्यालय बन्द गर्नु पर्ने अवस्था आएको वित्थडचिर गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि अवस्थीले बताए । मौसममा आएको परिवर्तन सँगै विद्यार्थीमात्र नभएर गाउँपालिकाको समुदायस्तरमा पनि ज्वरोका बिरामी बढेका छन् । उनले भने , विद्यालयमा मात्र नभई ज्वरो समुदायस्तरमा पनि फैलिँदै गएको छ । विदेशबाट घरफकर्नेक्रम बढेकाले कोभिडको संक्रमण होकि भन्ने शंकाले हामीले कोभिड परिक्षण पनि गरेका थियौ ।
परिक्षण गरेका सबैमा कोभिड नेगेटिभ आएको छ । एउटै टोलमा दश जना भन्दा बढीमा समस्या देखिएकाले समुदायस्तरमा त्रास फैलिएको उनको भनाई छ । अहिले जिल्ला अस्पतालमा बढी जसो भाइरल ज्वरो सँगै, मौसमी रुघाखोकी र झाडापखालाका बिरामीहरू आउने गरेको जिल्ला अस्पताल बझाङका डा। मिलन खडकाले बताए।