कोरोना भाइरसविरुद्धको खोप अभियान स्थगित भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको (आईसीएस) बैठकले खोप उपलब्ध नहुञ्जेलका लागि खोप अभियान स्थगित गर्ने निर्णय गरेको हो ।
हिजो देखि ५५ वर्षमाथिका नागरिकलाई खोप दिने कार्यक्रम रहेकोमा खोप उपलब्ध नहुञ्जेलका लागि स्थगित गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
उनले स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले खोप उपलब्ध हुना साथ सूचना दिएर अभियान सुरु गर्ने बताए ।
अग्रिम भुक्तानी गरेको खोप आधा मात्रै आएको र कोभ्याक्स सुविधाको खोप पनि लक्ष्यअनुसार नआएको तथा खोप आउने सुनिश्चित नभएपछि अहिलेलाई खोप अभियान स्थगित गर्ने निर्णयमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गएको माघ १४ गतेदेखि सुरु भएको खोप अभियान विभिन्न चरणमा गरी मङ्गलवार (हिजो) सम्म चलेको थियो । अभियानअन्तर्गत हालसम्म १६ लाख ४४ हजार पाँच सय ५८ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अभियानमा स्वास्थ्यकर्मी, सफाइकर्मी, शव व्यवस्थापक, महिला स्वास्थ्य स्वयंसेविका, पत्रकार, जनप्रतिनिधि, अग्रभागमा काम गर्ने कर्मचारी, ६५ वर्षमाथिका नागरिक लगायतले खोप लगाएका छन् ।
यसैबिच कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाएका नागरिकलाई वैशाख ७ गते देखि दोस्रो मात्राको खोप लगाउन सुरु गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका डा गौतमले पहिलो र दोस्रो चरणको खोप प्राथमिकतामा पहिलो मात्रा खोप लगाएका सबै व्यक्तिलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्राको खोप लगाइने बताए ।