भजनी - टीकापुर नगरपालिका ७ दिव्यपुरका ८७ वर्षे कृष्णराज श्रेष्ठ समयसमयमा बिरामी पर्छन् ।
उच्च रक्तचाप र दमका बिरामी श्रेष्ठलाई दैनिकजसो स्वास्थ्य संस्थामा लैजानुपर्ने बाध्यता भएपनि अहिले पहिले जस्तो स्वास्थ्य संस्था जानुपर्ने बाध्यता हटेको छ । बुढेसकालमा स्वास्थ्योपचारका लागि स्वास्थ्य संस्थासम्म जान निकै गाह्रो मान्ने श्रेष्ठ घरमै स्वास्थ्यकर्मी आउन थालेपछि खुशी छन् ।वडा कार्यालयले ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलो स्वास्थ्योपचार कार्यक्रम सुरु गरेपछि श्रेष्ठले प्रत्येक महिना घरमै बसेर आफ्नो स्वास्थ्य जाँच गराउन पाएका छन् । “पहिला अत्यधिक रुपमा बिरामीले च्यापेपछि मात्र स्वास्थ्य संस्था जान्थेंँ । अहिले महिनैपिच्छे स्वास्थ्यसेवा घरमै लिन पाएको छु”, श्रेष्ठले भने, “वडाले ज्येष्ठ नागरिकका लागि गरेको यो कार्यक्रमले हामीजस्तालाई धेरै सहज भएको छ ।”
टीकाराम चौधरी ७२ वर्षका भए । उनलाई उच्च रक्तचापको र खोकीको समस्या छ । उनी औषधि ल्याउनकै लागि पनि स्वास्थ्य संस्था पुग्नुपथ्र्यो । अहिले स्वास्थ्यकर्मीको परामर्शले मात्रै पनि उनले आफूलाई सञ्चो भएको महसुस गर्न थालेका छन् । “घरमै औषधि उपचार पाएका छौंँ । यसभन्दा बढी सुविधा हाम्रा लागि अरु केही हुन सक्दैन”, चौधरीले भने, “यो कार्यक्रमलाई वडाले निरन्तरता दिन सके धेरै राम्रो हुन्थ्यो तर एक वर्षका लागि मात्र कार्यक्रम सञ्चालन हुँदा हाम्रो स्वास्थ्यको कसले पुनः हेरचाह गर्ला भन्ने चिन्ता छ ।”
वडा नम्बर ७ कै ५६ वर्षे गणेशकुमार नेपाली अपाङ्गता भएका व्यक्ति हुन् । उनलाई औषधोपचारका लागि स्वास्थ्य संस्थासम्म जान निकै समस्या छ । शारीरिक अस्वस्थताका कारण सधैँ घरका अन्य सदस्यलाई पनि भन्न अप्ठ्यारो मान्ने नेपाली अहिले खुशी देखिन्छन् ।
घरमै स्वास्थ्यकर्मी उपचारका लागि पुग्न थालेपछि नेपालीलाई स्वास्थ्य संस्थासम्म जानपर्ने बाध्यता मात्र टरेको छैन गाउँघरमा हुने विभेदमा पनि कमी भएको महसुस हुन थालेको छ । “वडाले हाम्रा लागि यसभन्दा राम्रो काम केही गर्न सक्दैन । यसलाई निरन्तरता दिनुपर्छ”, नेपालीले भने, “अहिले औषधि उपचारभन्दा स्वास्थ्यकर्मीको परामर्शले हामी धेरै खुशी छौंँ ।”
वडा कार्यालयले ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुको घरदैलो स्वास्थ्योपचारका लागि एक स्वास्थ्यकर्मी नियुक्त गरेको छ । स्वास्थ्यकर्मी शान्ति ढुङ्गाना महिनैपिच्छे स्वास्थ्योपचारका लागि स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता टरेको बताउँछिन् । “महिनामा घरमै स्वास्थ्य उपचारसहित औषधि दिएका छौंँ”, ढुङ्गानाले भनिन्, “स्वास्थ्य संस्था जानै पर्ने भएपनि स्वास्थ्यकर्मीको सल्लाहअनुसार जाँदा सहजरुपमा सेवा पाउन थालेका छन् ।”
स्वास्थ्यकर्मीले महिनामा आठ दिन घरघरमा पुगेर ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकलाई स्वास्थ्यसेवा प्रदान गर्दै आएको छ । गत भदौ सुरु भएको घरदैलो स्वास्थ्य अभियानमा फागुनसम्म ६१३ महिला र ४४९ पुरुषले स्वास्थ्य सेवा लिएका छन् । स्वास्थ्यकर्मी ढुङ्गानाले सुरुमा काम गर्न गाह्रो भएपनि अहिले गाउँमा जाँदा नागरिक आफै उपचारका लागि आउने गरेको बताइन् । उनले गाउँमा गएर प्राथमिक उपचार र स्वास्थ्य परामर्शका साथै स्वास्थ्य संस्थाबाट प्रदान गरिने निःशुल्क औषधिसमेत वितरण गरिँदै आएको बताएकी छिन् ।
“ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई मात्र नभई गाउँमा भएका आमा समूहका बैठकमा समेत स्वास्थ्य परामर्शका कार्यक्रम सञ्चालन गर्दै आएकी छु”, ढुङ्गानाले भनिन्, “एक वर्षका लागि वडा कार्यालयले मलाई यो जिम्मेवारी दिएको थियो । अब दुई महिनामा सकिँदैछ ।”स्थानीय ज्येष्ठ नागरिक भने ढुङ्गानाका कामबाट पूर्णरुपमा सन्तुष्ट भएको बताउँछन् । चौहत्तर वर्षीय जीतबहादुर गिरी सो कार्यक्रम र ढुङ्गनाको कामलाई निरन्तरता दिन आफू जुनसुकै ठाउँमा जानुपर्ने भएपनि जान तयार रहेको बताउँछन् ।
ढुङ्गानाले आफ्नो क्षमताले भ्याएसम्म नागरिकलाई स्वास्थ्योपचारका लागि काम गरेको बताउँदै नगरपालिकाबाटै करार सेवामा राखेर आफ्नो कार्यलाई अगाडि बढाउने अवसर दिइने आशा व्यक्त गरिन् । उनले भनिन्, “कार्यक्रमले अझै निरन्तरता पाए थप सक्रिय भएर काम गर्ने छु ।”रासस