अत्तरिया - कैलालीको गोदावरी नगरपालिकामा पनि ६५ बर्ष माथिका नागरिकहरुलाई कोरोना बिरुद्धको खोप लगाइने भएको छ । कोरोना बिरुद्धको दोस्रो चरणको खोप अभियान अन्र्तगत पहिलो प्राथमिकतामा रहेको ६५ बर्ष माथिका नागरिकहरुलाई कोरोना बिरुद्धको खोप लगाइने भएको हो ।
यही चैत्र ८ गतेदखी बढीमा ५ दिन सम्म खोप लगाउने अभियान संचालन गरिन लागेको गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको परिपत्र अनुसार गोदावरी नगरपालिका वडा नं ३ मा रहेको मालाखेती अस्पताल सहित नगरपालिका भित्रका सबै स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्रहरुवाट लक्षित उमेर समुहका जेष्ठ नागरिहरुलाई खोप लगाउने ब्यबस्था मिलाइएको स्वास्थ्य शाखा प्रमुख बिर बहादुर कुबरले जानकारी दिए ।
दोस्रो चरणको खोप अभियानमा गोदावरी नगरपालिका भित्रका मात्रै ८ हजार जेष्ठ नागरिकहरुलाई खोप लगाई लक्ष्य राखिएको उनले बताए । यस अबिधमा कुनै पनि स्वास्थ्यकर्मी वा कर्मचारीहरुलाई काज वा बिदामा बस्न नदिने पनि स्वास्थ्य संस्थाहरुलाई भनिएको छ ।
यस अघि पहिलो चरणको पहिलो प्राथमिकतामा परेका ४ सय २० जना र दास्रो प्रथमिकतामा परेका २०० जनालाई नगरपालिकाले खोप लगाएको थियो । पहिलो प्रथमिकतामा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंयसेविका, सरसफाइकर्मी, शव व्यवस्थापनमा खटिएका कर्मचारी र दोस्रो प्राथमिकतामा पत्रकार, कर्मचारी, सुरक्षा निकाय, जनप्रतिनिधिलगायतलाई खोप लगाइएको थियो ।
पहिलो चरणका लागि मालाखेती अस्पताललाई मात्रै खोप केन्द्र तोकिएको थियो भने अहिले मालाखेती अस्पताल सहित नगरपालिका भित्रका सबै स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्रहरुलाई खोप केन्द्र तोकिएको स्वास्थ्य शाखाले जनाएको छ ।