धनगढी-धनगढी उप–महानगरपालिकाले आर्थिक बर्ष २०७६÷०७७ को बार्षिक नीति , कार्यक्रम तथा बजेट पारित गरेको छ । आईतबार बसेको नगरसभा बैठकले बार्षिक नीति , कार्यक्रम तथा बजेट सर्वसम्मत रुपमा पारित गरेको हो । असार ८ गते बाट धनगढी उप–महानगरपालिकाको चौथो नगरसभा सुरु भएको थियो ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले पेश गरेको बार्षिक नीति , कार्यक्रम तथा बजेटमा नगसभा सदस्यहरुले छलफल गरेका थिए । छलफलमा नगरसभाका ७० जनाले भन्दा बढीले छलफलमा भाग लिएका थिए । उप–प्रमुख भट्टले असार ८ गते नगरसभामा १ अर्व ५८ करोड ४८ हजार बजेट पेश गरेकी थिईन ।
जसमध्य चालुतर्फ ७६ करोड ३६ लाख ४२ हजार १६६ रुपियाँ ३८ पैशा रहेको थियो । पुँजीगत तर्फ ८१ करोड, ६८ लाख ५ हजार ८ सय ३३ रुपियाँ ६२ पैशा रहेको थियो । नगरपालिकामा कार्यान्वयन हुने तर रातोकितावमा समावेश गर्न नपर्ने अनुदान तर्फको ५७ करोड ४२ लाख यस बजेटमा नसमेटिएको बताईएको छ ।
समग्रमा बजेट बढेको छ तर यस पटक अनुदान नगरको बजेटमा समावेस नगर्ने परिपत्र भएकोले यस पटक नसमेटिएको बताईएको छ । यस अघि अनुदानको अनुमानीत रकमलाई पनि बजेटमै जोडर राख्ने प्रावधान थियो ।
'योजना तर्जुमा प्रकृया देखि नीति , कार्यक्रम तथा बजेट पारित गर्न सम्म सक्रियता देखाउने सबै नगरसभा सदस्यहरु प्रति आभार ब्यक्त गर्दछु.' धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने- 'नगरवासीका मागहरुलाई श्रोत साधनले भ्याए सम्म समेट्ने प्रयत्न गरिएको छ।' धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले नगरसभाका सदस्यहरुले दिएका सुझाव तथा गुनासोहरु सम्बोधन हुने गरेर नीति , कार्यक्रम तथा बजेटलाई अन्तीम रुप दिईएको बताईन ।