अत्तरिया - सुदूरपश्चिम प्रदेश सहित अहिले देशभर कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान जारी रहेको छ । पहिलो चरणको खोप अभियान गत माघ १४ देखि सुरु भएको थियो भने दोस्रो चरणको अभियान फागुन २३ गतेबाट सुरु भएको हो ।
जसमा सुदूरपश्चिम प्रदेशमा अहिले सम्म डेढ लाख जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइएका छन् । प्रदेशभरि हाल सम्म एक लाख ४९ हजार ५७९ जनालाई खोप लगाइएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
खोप लगाउनेमा सबैभन्दा बढी कैलालीका ४० हजार ३०१ जना रहेको मन्त्रालयका प्रवक्ता नरेन्द्र सिं कार्कीले जानकारी दिए । त्यसपछि कञ्चनपुरका २४ हजार ८६४, डोटीमा १४ हजार ३५७, बैतडीमा १४ हजार ९६, अछाममा १३ हजार ८०५, बझाङमा १३ हजार ७३५, डडेल्धुरामा १० हजार ३४०, दार्चुलामा नौ हजार ८८६ र बाजुरामा आठ हजार १९५ जनाले खोप लगाएको उनले बताए ।
पहिलो चरणको पहिलो प्राथमिकता र दोस्रो प्राथमिकता तथा दोस्रो चरणको पहिलो प्राथमिकतामा परेका नागरिकलाई उक्त खोप लगाएका हुन् ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शव व्यवस्थापनमा खटिएका कर्मचारी, कैदीबन्दी, सीमामा खटिएका सुरक्षाकर्मी, कर्मचारी,जनप्रतिनिधि, सञ्चारकमीलाई खोप लगाइएको थियो भने हाल दोस्रो चरणमा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप लगाइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कैलालीको गोदावरी नगरपालिकामा भने दोस्रो चरणको खोप अभियान भने संचालन गरिएको छैन ।