अत्तरिया - आज आदिकवि भानुभक्त आचार्यको २०६ औँ जन्मजयन्ती अर्थात भानु जयन्ती । सुदुुरपश्चिम सहित देश तथा बिदेशमा रहेका सम्पुर्ण नेपाली भाषीहरुले विभिन्न कार्यक्रम गरी आचार्यको २०६ औँ जन्मजयन्ती मनाउदैछन् । नेपाली भाषाका आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घा गाँउमा २०५ वर्षअघि अर्थात् वि.सं.१८७१ असार २९ गते भएको थियो ।
धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यको रेखदेखमा भएको थियो। उनले भारतको वाराणसीमा पनि केही समय शिक्षा लिएका थिए । भानुभक्तलाई एक सामान्य घाँसीले “जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ”, भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।
उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । अहिले उनका रामायण लगायत प्रश्नोत्तर, भक्तमाला वधुशिक्षा, रामगीता लगायत थुप्रै फुटकर रचना नेपाली भाषी माझ लोकप्रिय रहेका छन् । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ ।
यता अत्तरियामा प्रतिभा पुष्तकालयको आयोजनामा भानुजयन्ती मनाएको हो । प्रतिभा पुष्तकालयका अध्यक्ष पुष्पराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा गोदावरी साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार पदमराज जोशी,प्रतिभा पुष्तकालयका पूर्व अध्यक्ष कृष्ण पनेरु बन्चित, साहित्यकार निर्मल कुमार भण्डारी लगाएत यस क्षेत्रका बिभिन्न साहित्यक ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
सहभागी साहित्यकारहरुले आदिकवि भानुभक्तको नेपाली साहित्यमा पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए । यस्तै कैलाली जनपुस्तकालय धनगढीले पनि भानुजयन्ती मनाएको छ । कैलाली जनपुस्तकालयका अध्यक्ष डा.टि एन जोशीको अध्यक्षतामा सम्पन्न समारोहमा मुख्यमन्त्री त्रिलोचन भट्ट प्रमुख अतिथि हुनुहुन्थ्यो।
सो अवसरमा बोल्दै मुख्यमन्त्री भट्ट नेपाली भाषाको उदगम भूमि सुदूरपश्चिम भएकोले यो क्षेत्र भाषा संस्कृतिका दृष्टिले समृद्ध रहेको बताए उनले नेपाली भाषाको एकीकरणमा आदिकवि भानुभक्तको महत्वपूर्ण योगदान रहेको समेत बताए। समारोहमा वरिष्ठ शिक्षासेवी जगदीशप्रसाद भट्टलाई कैलाली जनपुस्तकालयले ' पूर्णानन्द जोशी राष्ट्रिय शिक्षा सेवा पुरस्कारबाट सम्मानित गरेको छ ।