काठमाण्डौ - निरन्तरको भारी वर्षा पछि आएको बाढी र पहिरोमा परी देशका विभिन्न स्थानमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । शनिवार साँझ सम्म ललितपुरमा ५ जना, भोजपुरमा ४ जना, काठमाडौं, मकवानपुर, खोटाङ र काभ्रेमा ३ र ३ जना, धादिङ र सिन्धुलीमा २ र २ जना तथा पाल्पा, ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा एक एक गरी मृत्यु हुनेको संख्या ३४ पुगेको हो ।
यस्तै मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १ र १ जना गरी १२ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।
साथै बाढी पहिरोमा परी सिन्धुलीमा ४ जना तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङ, ललितपुर, मकवानपुर र भोजपुरमा एकएक जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ । सेना, प्रहरी र सशस्त्र प्रहरी डुवानबाट प्रभावित स्थानहरुमा क्षति न्यूनीकरण र उद्दारमा खटिएका छन् ।