अत्तरिया - कैलालीको अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसले गोदावरी पत्रकार मञ्चका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गरेको छ ।
गोदावरी नगरपालिका वडा नं २ मा रहेको सेभ हाउसको कार्यालयमा आयोजित एक कार्यक्रम बिच पत्रकार मञ्चका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिदै स्वागत गरेको हो ।
सेभहाउसकी अध्यक्ष जानकि मलासिको अध्यक्षतामा भएको कार्यक्रममा गोदावरी पत्रकार मञ्चका नवनिर्वाचित अध्यक्ष हेमराज भट्ट प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा सेभ हाउसकी अध्यक्ष मलासीले नव निर्वाचित पदाधिकारीलाई टिका र खादा लगाएर स्वागत गरेकी थिइन् ।
स्वागतपछि बोल्दै अध्यक्ष मलासीले महिला दिवसको दिन अत्तरियाका क्षेत्रका नवनिर्वाचित पत्रकारहरुलाई स्वागत गर्न पाउदाँ निकै खुसी लागेको बताइन् ।
उनले आफ्नो संस्थालाई स्थापना कालदेखी आजको दिनसम्म अत्तरिया क्षेत्रका बिभिन्न मिडियामा आबद्ध पत्रकारहरुको ठूलो साथ र सहयोग पाइरहेको भन्दै सम्पूर्ण पत्रकारहरुलाई धन्यवाद समेत दिएकी थिइन् ।
उनले यस अघि अत्तरियामा अलग अलग छरिएर रहेकामा पत्रकारहरु एकताबद्ध भएर पत्रकार मञ्चको गठन भएपछि आफुहरुलाई पनि निकै सहयोग पुग्ने विश्वास ब्यक्त गरिन् । उनले पत्रकारिताको धर्मलाई आत्मसाथ गर्दै समाजमा भएका कमी कमजोरीहरुलाई निष्पक्ष रुपमा उठान गर्न पनि आग्रह गरेकी छन् ।
साथै उनले पत्रकार मञ्चका लागि आफ्नो र संस्थाको तर्फवाट गर्नुपर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको समेत बताएकी छन् । यस्तै कार्यक्रममा बोल्दै गोदावरी पत्रकार मञ्चका अध्यक्ष एबम् गोदावरी एफ एमका सम्पादक हेमराज भट्टले संस्थाले गरेको स्वागत सम्मान प्रति मञ्चका तर्फवाट धन्यवाद दिए ।
उनले कुनै पनि कामहरु एक्लै गर्न सम्भव नहुने हुदाँ अत्तरियाका कृयशिल पत्रकारहरुलाई एकताबद्ध गरी सामुहिक रुपमा काम गर्नका लागि मञ्चको गठन गरिएको बताए ।
उनले समाज परिर्वतनका लागि पत्रकारको भूमिका महत्वपूर्ण रहने भएका यस क्षेत्रका सबैका समस्याहरुलाई सामुहिक रुपमा उठान गर्न र समाजमा पत्रकारका तर्फवाट गर्न सकिने सामाजिक कार्यहरु पनि गर्दै जाने बताएका छन् ।
कार्यक्रममा गोदावरी पत्रकार मञ्चका नवनिर्वाचित उपाध्यक्ष अनिल पन्त , प्रबक्ता प्रेम बिष्ट , सचिब नरेश नाथ योगी र सह सचिब खेमराज भट्टले आ आफ्ना मन्तब्यहरु राखेका थिए । महिला सेभ हाउसकी कर्मचारी रक्षा श्रेष्ठले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन संस्थाकी उपाध्यक्ष सकुन्तला सोवले गरेकी थिइन् ।