काठमाण्डौ -जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले देशैभर भइरहेको अविरल वर्षा आइतबार रातिसम्म जारी रहने प्रक्षेपण गरेको छ । शनिबार र आइतबार देशैभर अविरल वर्षा कायम रहने महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताए । सोमबार बिहानदेखि भने मौसममा सामान्य सुधार हुने पूर्वानुमान छ । शनिबार दिउँसो पूर्व र मध्य तराई तथा पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
पूर्व र मध्य पहाडी क्षेत्रमा धेरै भारी वर्षा हुने अनुमान गरिएको छ । यस्तै शनिबार राति पूर्वको मध्यपहाडी क्षेत्र र पश्चिमको पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ । राति नै तराईका एक–दुई स्थानमा भने धेरै भारी वर्षा हुने अनुमान छ । आइतबार दिउँसो, पूर्व तथा मध्य क्षेत्रका केही स्थान र पश्चिमका केही स्थानमा भारी वर्ष हुने अनुमान छ ।
पूर्व र मध्य, पश्चिम पहाडी क्षेत्र र तराईका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । आइतबार राति भने पूर्व मध्य क्षेत्रका थोरै स्थान तथा पश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ । पूर्व र मध्य क्षेत्रका एक–दुई स्थानमा भने धेरै भारी वर्षको अनुमान छ । पश्चिमी पहाडी क्षेत्रका केही स्थानमा पनि भारी वर्षा हुने महाशाखाले जनाएको छ ।
बाढीको सम्भावना भएका नदी र खोला
शनिबार र आइतबार प्रदेश नम्बर १, २, ३ र गण्डकी प्रदेशका चुरे क्षेत्र भई बग्ने नदी तथा खोलामा आकस्मिक बाढीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आगामी दुई दिन पूर्वको कन्काई, सप्तकोसी, तमोर, दूधकोसी, सुनकोसी, कमला, बागमती र पूर्वी राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ । यस्तै, प्रदेश नम्बर १ र २ का तराई क्षेत्र, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम क्षेत्रका होचा भूभाग डुबानमा पर्न सक्ने महाशाखाले अनुमान गरेको छ ।
कहाँ कति वर्षा भयो ?
शुक्रबार सबैभन्दा धेरै सिमरामा ३११ दशमलव ९ मिलिमिटर वर्षा भएको छ । क्रमशः जनकपुर २४५ दशमलव २, धरान १५५ दशमलव ८, काठमाडांैमा ११५ दशमलव २, ओखलढुंगामा १०१ दशमलव ३ र धनकुटामा ७५ दशमलव ५ मिलिमिटर वर्षा भएको छ ।