काठमाडौँ- प्रधानमन्त्री केपी ओलीले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताएका छन् ।ओलीले भने 'एउटा भ्रम छर्न खोजिएको छ तर हामीले कसैलाई पनि अनुचित ढंगले प्रधानमन्त्रीको प्रस्ताव गरेका छैनौँ । गर्दैनौँ पनि ।'
शुक्रबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग शान्तिपूर्ण वार्तामा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
प्रचण्ड र माधवलाई लक्षित गर्दै ओलीले भने, 'उहाँहरुको गतिविधि देखेर अचम्म लाग्छ । आफ्नो पार्टीको दुईतिहाइ भत्काएर प्रधानमन्त्रीलाई जसरी पनि हटाएर अरुलाई प्रधानमन्त्री खाइदिनूस् भन्दै बिन्ती गरिराख्नुभएको छ ।'मुलुकमा राजनीतिक स्थिरता र समृद्धिको लागि आफूले संसद विघटन गर्ने बाध्यता रहेको पनि उनको दावी थियो ।
ओलीले आज एउटा ऐतिहासिक काम सम्पन्न भएको बताउँदै भने, 'अन्तिम किस्तामा नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ। अब नेपालमा हिंसात्मक द्वन्द्व छैन। अब नेपालमा हिंसात्मक बाटो र हिंसात्मक कार्यदिशा कसैले अवलम्बन गरेको छैन।'आगामी दिनमा चन्द नेतृत्वको नेकपाले शान्तिपूर्ण ढङ्गले आफ्ना गतिविधि गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले प्रक्रिया पुर्याएर नेकपाका नेता तथा कार्यकर्तालाई छोडिने बताए।
पौडी खेल्न बिप्लपलाई आउँछ
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई शान्तिपूर्ण राजनीतिमा पौडी खेल्न आउने बताएका छन् । सरकार र विप्लव समूहबीचको सहमतिपत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा ओलीले विप्लवलाई मूलधारको राजनीतिमा स्वागत समेत गरे ।
‘नेपाल एउटा शान्तिको नयाँ युगमा प्रवेश गरेको छ । म नेपाल कम्युनिस्ट पार्टीलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु’ ओलीले भने, ‘यस खुला परिवेशमा र शान्तिपूर्ण राजनीतिमा , राष्ट्रिय राजनीतिको मूलधारमा उहाँलाई स्वागत गर्न चाहन्छु । मलाई विश्वास छ यस राजनीतिमा पौडी खेल्न विप्लवलाई आउँछ । उहाँ यसमा पौडी खेलेर सफलताका साथ अगाडि बढ्नुहुनेछ भन्ने विश्वास लिएको छु, यसमा उहाँलाई सफलताको हार्दिक शुभकामना भन्न चाहन्छु ।