काठमाण्डौ - जापान रोजगारीका लागि भाषा परीक्षाको तयारी भैरहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दिपक ढकालका अनुसार असोजमा परीक्षा सञ्चालन गर्ने तयारी भैरहेको हो ।
जापान रोजगारीका लागि भाषा परीक्षा आउँदो असोजमा सञ्चालन हुने बताइएको छ । भाषा परीक्षापछि सीप परीक्षण गरिन्छ । सीप र भाषाको परीक्षा जापान सरकारले तोकेका संस्थाले लिनेछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका रोजगारी खुलाएका १४ क्षेत्रमध्ये पहिलो चरणमा केयरगिभर कामदार लैजाने जापानको तयारी छ ।
भाषा परीक्षाका लागि जापान फाउन्डेसनले परीक्षा सञ्चालन गर्नेछ । जापानले रोजगारीका लागि पहिलो चरणमा केयर गिभर (नर्सिङ केयर) मा कामदार लैजानेछ छ । परीक्षा सञ्चालनका लागि गृहकार्य सुरु भएको वैदेशिक रोजगार विभागका प्रवक्ता भोलानाथ गुरागाईँले बताए । जापान युनिटका लागि सम्पर्क व्यक्तिका रूपमा गुरागाई तोकिएका छन् ।
कुनै विषय आएमा विभागबाट गर्नुपर्ने काम उनकै नेतृत्वमा हुनेछ । जापानले रोजगारीको अवसर खुलाएका देशका नागरिकका लागि तोकिएको सीपमा जापानमा पनि परीक्षा सञ्चालन गरी कामदार आपूर्ति भइरहेको छ । कम्प्युटरमा आधारित भाषा परीक्षा सञ्चालन हुनेछ । उत्तीर्ण भएका सूचीका आधारमा कामदार जापान जान पाउने उनले बताए । नर्सिङ केयरका लागि अरु योग्यता र तालिमको प्रमाणपत्र अनिवार्य गरिएको छैन । नर्सिङ केयर क्षेत्रमा रुचि भएका तथा भाषामा निपुर्ण भएका जोकोही जापान जान पाउनेछन् ।
नर्सिङ केयरका लागि परीक्षा सञ्चालन प्रक्रिया सुरु भए पनि कति कामदार लैजाने भन्ने यकिन भइसकेको छैन । जापानमा वृद्ध जनसंख्या बढ्दै गएकाले जापानले पहिलो चरणमा उनीहरूको हेरचाहलाई लक्ष्य गरेर नर्सिङ केयरमा कामदार लैजान लागेको हो । कामदार जापान लैजाने प्रक्रिया अघि बढेसँगै वैदेशिक रोजगार विभागमा जापान रोजगार युनिट स्थापना गर्ने तयारी अन्तिमचरणमा पुगेको छ ।
जापानले नेपालसहित ९ देशबाट आगामी ५ वर्ष्भित्र नौ मुलुकबाट ३ लाखभन्दा बढी कामदार लैजान लागेको छ । जापानले ती देशसँग श्रम समझदारी गर्दै आएको छ ।