काठमाण्डौ - निरन्तरको भारी बर्षा पछिको बाढी र पहिरोमा परी देशभर १९ जनाको मृत्यु भएको छ । प्रदेश १ , २ र ३ का विभिन्न जिल्लामा भएको भारी बर्षा पछिको बाढी र पहिरोमा परेर १९ जनाको मृत्यु भएको हो ।
केहि दिन निकै सक्रिय भएको मनसुनले भैरहेको भारी बर्षाले तराईका विभिन्न जिल्ला र संघिय राजधानी काठमाण्डौका केही ठाउहरुँ डुबानमा पर्दा जनजीवन अस्तव्यस्त भएको छ । बाढीपहिरोमा परी आठ जना बेपत्ता भएका छन् भने सयौं घाइते भएका छन् । यस्तै बाढीपहिरोमा परी हजारौं परिवार विस्थापित भएका छन् ।
विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा लगिदैछ । यसरी बाढी र पहिरोमा परी मृत्यु हुनेमा काठमाडौं उपत्यकामा चार , खोटाङमा तीन , भोजपुर र काभ्रेमा दुई–दुई, इलाम, ओखलढुंगा, पर्सा, झापा, सिन्धुली, रामेछाप, मकवानपुर र धादिङमा एक–एक जना रहेको नेपाल प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा चार जनाको मृत्यु भएको छ। तीनजनाको टहरोले किचेर र एकजनाको पहिरोमा पुरिएर निधन भएको हो ।
ओखलढुंगाको चिसंखुगढी गाउँपालिका रातमाटेमा ९५ वर्षीया पासाङ फुरी शेर्पाको लसुने खोलाले बगाएर , झापा दमक–१० मा भालुखोलाले बगाएर ६ वर्षीया एलिजा न्यौपाने , पर्साको पर्सागढीमा बाढीले बगाएर ल्याएको काठ छोप्न भनेर खोलामा पसेका मेघराज पटेलका १२ वर्षीय छोरा निखल पटेलको मृत्यु भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–२ का एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पहिरोमा परी रेखा राई र उनका दुई छोरा रोमन र रोहनको मृत्यु भएको हो । घर पुरिँदा विष्णुकुमार राई घाइते भएका छन् ।
खोलाले बगाएर इलामको चुलाचुली–१ मा अञ्चल लावती , शौचालय गएका बेला पहिरोले पुरिएर भोजपुरको ट्याम्केमयुङ गाउँपालिका, लोकखर्कका जनक विक , रामप्रसाद राई गाउँपालिका–७ बासीखोरामा घरको छानो खसेर ६६ वर्षीय जगतबहादुर राईको मृत्यु भएको छ । काभ्रेको बनेपा नगरपालिका–३ नालामा पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोले पुरिँदा स्थानीय रामप्रसाद दंगालकी पत्नी ५५ वर्षीया गोमा दंगाल र सात वर्षीया नातिनी सोहनी दंगालको मृत्यु भएको काभ्रेका प्रहरी प्रमुख एसपी जयराज सापकोटाले बताए । घरमाथिबाट आएको पहिरोले पुरिँदा घाइते भएका ३ जनाको उपचार भइरहेको छ । मकवानपुरको थाहा नगरपालिकामा खोलाले बगाउँदा स्थानीय शिवराम बलामीकी १४ वर्षीया छोरी सन्तमाया बलामीको मृत्यु भएको छ ।
खोलाले बगाएर घाइते भएकी उनको उपचारका क्रममा पालुङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो । यस्तै रामेछाप नगरपालिका–५ मा पहिरोले पुरिएर पदमकुमारी सुनुवार , धादिङको गजुरी गाउँपालिका–४ मा घर भत्किएर अस्मिता तामाङे सिन्धुलीको फिक्कल गाउँपालिका–१ मा पहिरोले गोठ भत्किँदा हेमकुमारी सुनुवारको मृत्यु भएको छ ।
सुनसरी, पाँचथर र झापामा एकएक जना बेपत्ता भएका छन्। सुनसरीको इटहरी–५ स्थित सुकुमारी खोलाले बगाएर दुई दिनदेखि बेपत्ता युवा अझै भेटिएका छैनन् । सोही स्थानमा ग्रिल पसलमा काम गर्ने अन्दाजी ३६ वर्षका सागर थापालाई माछा मार्ने क्रममा बिहीबार बाढीले बगाएको थियो। पाँचथरको मिक्लाजुङ–४ का दियाल राई पहिरोमा परी बेपत्ता भएका छन्। मेचीनगर– १४ का ५४ वर्षीय सुफल हस्दा भद्रपुरस्थित हडिया खोला तर्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ ।