डडेल्धुरा - डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सकहरुले अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् । ड्युटीमा खटिएका बेला वडा अध्यक्ष सहित आएको समुहले आक्रमण गरेपछि सुरक्षाको माग गर्दै अस्पतालका चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका हुन्् ।
यहि बुधबार दिउँसो १२ बजेको समयमा शव परीक्षण गरिरहेका चिकित्सक माथि अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भीडले आक्रमण गरेको अस्पतालमा कार्यरत चिकित्सकले बताएका छन् । वडाध्यक्ष खड्काले शव परीक्षण नगरी लगेको चिकित्सकहरुको भनाई छ ।
आक्रमणपछि चिकित्सकले एक विज्ञप्ति जारी गर्दै सुरक्षाका कारण संगै दोषी माथि कडा कारवाही नहुँदा सम्म नियमित सेवामा फर्कन नसक्ने जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएर आकस्मिक बाहेकका सेवा बन्द गरेका घोषणा समेत गरेका थिए । प्रहरीले बुधबार बिहान ११ः३० बजे अमरगढी नगरपालिका–११ सल्लाघारीका मृतक रमेश खड्काको शव परीक्षणका लागि अस्पताल पु¥याएको थियो । चिकित्सकहरूले साढे ११ बजेको समयमा शव परीक्षण शुरु गरेका थिए ।
घटनाको नेपाल चिकित्सक सङ्घले पनि विरोध गरेको छ । यसरी पटक–पटक चिकित्सक माथि आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै डडेल्धुरा अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गर्नुपरेको डडेल्धुरा अस्पतालका निमित्त मेसु डा.जीवन खरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । स्थानीहरुको आक्रमणवाट केहि चिकित्सकहरु घाइते भएका छन् । चिकित्सकमाथि पछि आक्रमण गर्नेलाई कडा कारवाही गर्नुका साथै राज्यले सुरक्षाको प्रत्याभूति नगरेसम्म नियमित सेवामा नफर्किने बिज्ञप्तीमा उल्लेख छ ।
यस अघि उपचारको क्रममा जेठ ३१ गते सुत्केरी भएको १४ दिनपछि अमरगढी–६ की गीता ताम्राकारको मृत्यु भएपछि डडेलधुरा अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात भएको थियो । असार १२ गते नागरिक समाज डडेल्धुराको सर्वपक्षीय बैठकमा चिकित्सकमाथि कुनै खाले धरपकड नहुने भन्दै चिकित्सक काममा फर्के पनि पुनः वडाध्यक्ष खड्काको नेतृत्वमा आएको भीडले शव परीक्षण गरिरहेका चिकित्सकलाई तथानाम गाली गर्दै हातपात र ढुङ्गा प्रहार गरेको डडेल्धुरा अस्पतालले जनाएको छ ।
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर हुन गोदानको आग्रह
सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले डडेल्धुरा अस्पतालमा कार्यरत सबै चिकित्सकहलाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर हुन आग्रह गरेको छ । संघले एक बिज्ञप्ती निकाल्दै डडेल्धुरा अस्पतालमा कार्यरत सबै चिकित्सकहरुलाई काठमाडौं हाजिर आग्रह गरेको हो ।
संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डे र महासचिव डा. रविन खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ -‘सुरक्षाको सत प्रतिशत ग्यारेन्टी नभएसम्म र दोषीलाई तत्काल हिरासतमा लिएर अनुसन्धान नगरिएसम्म अस्पतालमा कार्यरत चिकित्सकहरुलाई आत्मसुरक्षाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर हुन आग्रह गर्दछौँ’ ।