काठमाडौं– कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ दोमिल्लाका सुरेन्द्र सिंह मालले भारतमा कार्यरत रहँदा जबरजस्ती आफ्नो लिङ्ग परिवर्तन गराउनेमाथि कारवाहीको माग गर्दै राजधानी पुगेका छन्।
जिल्लामा न्याय नपाएपछि उनी काठमाडौं पुगेका हुन्। उनले मंगलबार रिपोटर्स क्लबमा आफ्ना बुवाको साथमा पत्रकार सम्मेलन गरेर न्याय र बाँच्न पाउने आधार दिन आग्रह गरे।
नेपालमा कक्षा १२ सम्मको पढाई सकेर काम र पढाईको सिलसिलामा भारतको जम्बु गएको बेला भारतको मेरठ घर भएका इलियास नाम गरिएका ब्यक्तिले आफूलाई अहिलेको हालतमा पुर्याएको उनको भनाई छ। उनले भने, ‘मलाई इलियासले अपहरण गरेर लामो समय मलाई थाहै नभएका विभिन्न ठाउँमा राख्ने र विभिन्न काममा लगाउने काम गरे।’
सोही अवधिमा त्यहीँको एक अस्पतालमा आफूलाई बेहोस बनाएर जवरजस्ती आफ्नो लिङ्ग परिवर्तन गराउने काम भएको उनले सुनाए। उनले घट्ना स्मरण गर्दैै भने, ‘म त्यहाँ कुनै होटेलमा वेटरको काम गरिरहेको थिएँ, त्यही बेला एक जना नेपाली तेस्रो लिङ्गी महिलाले मलाई यहाँभन्दा दोब्बर तलब पाउने प्रलोभन देखाई आफ्नो डेरामा लगेर गएका थिए।’
आफूलाई अस्पतालमा राख्दा महिलाको अंग बढाउने औषधि चलाएका कारण महिलाको ‘हर्माेन’ विकास भएको तथा लिङ्ग परिवर्तन गराइसकेपछि दुई बर्षसम्म समलिङ्गीको समूहमा राखेर पैसा माग्न लगाउने, उनीहरुका कामहरु गर्न लगाउने र कमाएको पैसा लुटेर लैजाने गरेको पनि उनले बताए।
आफ्नो गोप्य अंग काटेर फालेको र लिङ्ग परिवर्तन गराएको कुरा महसुस भएपछि आफूलाई सोध्नेसम्मको आँट नभएको उनको भनाई छ। अहिले आफ्नो लिङ्ग काटेर फालेको र सिलाएर पिसाब गर्ने ठाउँमात्र राखेको भन्दै आफ्नो शरीरमा प्रजननसम्बन्धी कुनै विकास नभएको उनले जानकारी दिए। उनले आफ्नो शरीरभित्र पाठेघर नभएको र अहिलेसम्म रजश्वला पनि नभएको जनाए।
पीडित मालले अहिले आएर आफूमा महिलासम्बन्धी विचारहरु आए पनि आफू पूर्ण महिलाको रुपमा विकास भैनसकेको पनि सुनाए। ‘मलाई नपुंसक बनाइयो। मर्न जाँदा आमा पनि संगै मर्न जान खोज्छिन। परिवारको जर्राे टार्न कामको लागि भारत गएको थिएँ। अहिले आफ्न्तको अगाडि मलाई बाँच्न नसक्ने बनाइयो’, उनले दुखेसो पोखे।
आफूमा बाँच्ने कुनै रहर नभएको बताउँदै उनले यो उमेरमा आफूलाई यस्तो हालतमा पु-याउनेको हालत आफ्नैजस्तै होस भन्ने पनि चाहना व्यक्त गरे।
आफूले प्रहरीसंग उक्त केसमा मुद्दा दर्ताको बिषयमा जानकारी लिन खोज्दा उल्टै आफ्ना दाजुलाई दुई घण्टासम्म थुनामा राखेको पनि उनको भनाई छ। ‘म समाजमा बस्न नसक्ने अवस्थामा पुगेकी छु। म बच्चा जन्माउन पनि समर्थ छैन र बुवा बन्न सक्ने अवस्थामा छैन। अब मैले कसरी जीवन बिताउने?’ उनले प्रश्न गरे, ‘सरकार म बाँच्न चाहन्छु। मलाई केही गरेर खाने वातावरण बनादेउ।’