अत्तरिया - फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली तथा पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा एक आपसमा शुभकामना साटासाट गर्दै विभिन्न किसिमका रङहरु लगाइ मनाउने गरिन्छ ।
केही वर्ष अघिसम्म देशैभर केहि उत्ताउलो रुपमा मनाइने यो पर्व पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई जथाभाबी इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द भएको छ ।
त्रेता युगमा दैत्यराज हिरण्य कश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।
त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिको प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ ।
यसैगरी, द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मरेकी थिइन् । उनलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविदहरुले बताएका छन् । राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीत कालका अनेकौँ रोगका कीटाणु निर्मुल हुने हुनाले यो पर्वको आयुवेदिक महत्व पनि छ ।
फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व भोलि मनाउने गरिन्छ । यद्धपी पछिल्ला बर्षहरुमा तराईका जिल्लाहरुमा आजवाट होली खेल्न सुरु गरिन्छ । होली खेल्दा गुणस्तरीय रङ र स्वच्छ पानी मात्र प्रयोग गर्न डाक्टरहरुले सुझाव दिएका छन् । रमाइलोका नाममा गुणस्तरहीन रंग प्रयोग गर्दा छाला र आँखामा समस्या देखिने भएकाले ध्यान दिन डाक्टरले सुझाव दिएका हुन् । होली खेल्दा उज्यालो रंगको, पूरा बाउला भएका लुगा लगाउनु र आँखा लेन्सको साटो चस्मा नै लगाउनु राम्रो हुने बताएका छन ।