बाजुरा - जिल्लाको बढीगंगामा नगरपालिका अन्र्तगत रिठा डेल्टा सडक खण्डमा पर्ने दोस्रो बार्जुगाड पुल र अछामको मार्तडी साफेँ सडक खण्डमा पर्ने बुढीगंगा नदिमा निमार्ण हुन लागेको मोटर पुल तिन चार वर्ष बिति सक्दा समेत अहिले सम्म काम सम्पन्न हुन सकेको छैन । निमार्ण कार्य सुरु गरेको तिन, चार वर्ष वितिसक्दा पनि पनि पुलको पिल्लर समेत बन्न नसकेको हो ।
पुल निर्माणको ठेक्का एडभान्चर साउँद जे भी कम्पनीले पाएको छ । कम्पनीले २४ महिना भित्र पुल निमार्ण गरी सक्न गरी २०७४ सालमा सम्झौता गरेका थियो । सम्झौता भएको तिन वर्ष बितिसक्दा समेत पुल बन्ने कुनै छाटकाट देखिएको छैन । एडभान्चर साउँद जे.भि.कम्पनीका ठेकेदार जय बहादुर साउँद गायब रहेका छन् । उनी अहिले सम्म सम्पर्कमा आएका छैनन् । उनको मोवाइल नम्वरमा फोन गर्दा सम्पर्क हुन सकेको छैन् ।
दोस्रो बार्जुगाड मोटर पुलको कुल रकम २ करोड ५० लाख रहेको छ । कुल बजेटको ५० प्रतिशत रकम ठेकेदारले निकासा गरी लिएको पुर्वधार विकास कार्यालय अछामले जनाएको छ । पुर्वधार विकास कार्यालय अछामका कार्यालय प्रमुख जंग बहादुर थापाले गत वर्ष ठेकेदारले कुनै काम नगर्दा ७० लाख रुपैयाँ फिर्ता गएको थियो भने यो वर्ष कम्पनीका ठेकेदार जय बहादुर साउँदलाई पटक पटक काम छिटो सम्पन्न गर्न ताकेता पत्र पठाएको बताए । कार्यालय प्रमुख थापाका अनुसार यो वर्ष समयमै काम सम्पन गर्न नसके ठेकेदार कम्पनीलाई कानुन अनुसार कारर्वाही गरिने भएको छ ।
अछामको साफेँ मार्तडी सडक
अछामको साँफे मार्तडी सडक अन्र्तगत पर्ने बुढीगंगा नदीमा निर्माण हुन लागेको पुल निमार्ण कार्य अलपत्र परेको छ । बडिमालिका नगरपालिका ४ र ६ को बीचमा रहेको जडाङ्गामा गएको असार भित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने पुल ठेकेदारको चरम लापरवाहीले गर्दा निर्माण कार्य अलपत्र परेको हो । पुल निर्माणका लागि २०७३ साल असार ३० गते काम सुरु भई २०७५ असार ३० गते सम्ममा काम सम्पन्न गरिसक्नु पर्ने सम्झौता भएको छ । ठेकेदारको ढिला सुस्ती र लापरबाहीले सम्झौता अवधिमा काम गर्न नसकेपछि पचास मिटर लम्बाइ रहेको उक्त पक्की पुलको निमार्ण कार्य अलपत्र परेको हो ।
पुल निमार्णका लागि ९ करोड ८३ लाख ८२ हजार ५ सय ७९ रुपैया ३९ पैसाको लागत अनुमान गरिए पनि काठमाण्डौ मसिना जे.बीका ठेकेदार नरेश पन्तले ५ करोड ५ लाख १६ हजार नौ सय रुपैयामा निर्माण कार्य सम्पन्न गर्ने गरि जिम्मा लिएका थिए । निर्माण अवधी सकिएको एक वर्ष बितिसक्दा पनि पुल निर्माणको काम अलपत्र अवस्थामा रहेको छ । निर्माणधिन अबस्थामा रहेको उक्त पुलको दुई वटा पिल्लर उठाउन बाहेक अन्य कुनै काम नभएको सडक डिभिजन कार्यालय साँफेबगर अछामका प्रमुख होम बहादुर एसीले बताए । ठेकेदारले पुल निमार्णका लागि पहिलो किस्ता बाफतको १ करोड १९ लाख ६५ हजार ६ सय २२ रुपैया लगिसकेको छ ।
हालसम्म २४ प्रतिशत मात्रै काम भएकोले बाँकी रहेको कामलाइ तुरुन्त सम्पन्न गर्न ठेकेदार नरेश पन्तलाई पत्रचार गरिसकेको सडक डिभिजन कार्यलय प्रमुख एसीले जानकारी दिए । काठमाण्डौ मसिना जे.बी प्रालिका ठेकेदार नरेश पन्तले भने २०७५ सालको श्रावणमा आएको अविरल वर्षाका कारण नदीमा पानीको बाहक बढ्न गई पुल निमार्णको काम गर्न समस्या भएकोले सम्झौता भएको मितिमा नै पुल निमार्ण काम सम्पन्न गर्न नसकेको बताए ।
सम्झौता मितिमै पुल निमार्णको काम कार्य गर्न नसक्दा उक्त पुल निमार्ण कार्यका लागि फेरी २०७६ असार ३० गते सम्म म्याद थप भएकोले थपिएको अवधी भित्र पुल निमार्णको काम सम्पन्न गरि सक्ने ठेकेदार पन्तले दाबी गरे ।
समयमा पुल नबन्दा स्थानीहरुलाई सास्ती
समयमा पुल नबन्दा स्थानियहरुलाई सास्ती भैरहेको छ । स्थानीयबासी खगेन्द रावतले निर्माण अबधिको समय भित्र पुल नबन्दा सो बाटोमा आवातजावत गर्ने यात्रुहरुलाई निकै समस्या भैरहेको बताए ।
ठेकेदारले पुल सुरु गरे देखि काम गर्दै आएका स्थानीय सगुने कार्कीले ठेकेदारले पुल निमार्ण गर्नको लागी आफुहरुलाई काम गराएको भएपनि आफुले काम गरे बाफत पाउनुपर्ने पारिश्रमिक नपाएको दुखेसो पोखे ।
ठेकेदार दुइ महिना यता समर्पक विहीन भएको कामदारहरुले बताएका छन । उता प्रमुख जिल्ला अधिकारी गंगा प्रशाद न्यौपानेले भने जिल्लामा दजैनौ पुल निमार्ण कार्यमा ढिलाइ गर्ने जो कोही ठेकेदारलाई कानुनी कारवाहीको दायरामा ल्याउने बताए । उनले निमार्ण कार्यको समझौता नागेका ठेकेदारको म्यद समेत थप नगरिने बताए ।
जनप्रतिनिधिहरु बेखबर
सरकारले समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई कारवाही गर्ने बताएपनि जिल्लामा दुई दर्जन बढी संरचना अवधी सकिए पनि निर्माण हुन सकेका छैनन् । सम्बन्धित नगरपालीका र गाउँपालिकाका प्रमुखहरुले समेत यस विषयमा कुनै चासो नदिएको पाइएको छ । यस बिषयमा सम्बन्धित स्थानीय तहका जनप्रतीनिधहरुलाई सोध्दा यस बारेमा आफुलाई कुनै जानकारी नभएको प्रतिकृया दिएका छन् ।