डडेल्धुरा –आर्थीक बर्ष ०७५/७६ को स्विकृत कार्यक्रम अनुसार डडेल्धुरामा एघारौँ राष्ट्रपति रनिङ शिल्ड जिल्लास्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ ।
‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूलनाराका साथ आयोजना गरिएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य एवं राज्यको निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापति निरादेवी जैरुले पानसमा बत्ति बालेर उद्घाटन गरेकी हुन । प्रतियोगितामा यस पटकबाट ७ वटै स्थानीय तहलाई अलग–अलगमा विभाजित गरी टिममा सहभागी भएका छन ।
प्रतियोगितामा अमरगढी, परशुराम नगरपालिका, अजयमेरु, आलिताल, गन्यापधुरा, भागेश्वर र नवगुर्गा गाउँपालिकाका विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ । यस अगाडि नै ७ वटै स्थानीय तहले नगर तथा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा खेलकुद प्रतियोगीता सम्पन्न गरि खेलाडीहरु छनोट गरी जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता गराएका हुन ।
यहाँबाट छनौट भएका खेलाडीहरुलाइ क्षेत्रियमा पठाइने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र मगरले जानकारी दिएकाछन । डडेल्धुरा सदमुकामको अमरगढी नगरपालिका–४ टुँडिखेलमा हुने प्रतियोगिमा भलिबल, कराते, कबड्डी, एथ्लेटिक्सलगायतका खेलबीच प्रतिस्पर्धा गराइने आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
शनिबारदेखि सुरु भएको प्रतियोगिता आइतबारसम्म संचालन हुनेछ । प्रतियोगिताको उद्घाटनामा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रमका साथै ‘जाग लम्क चम्क हे नौजवान हो’ बोलको राष्ट्रिय गीतमा मार्चपास समेत गरेका थिए ।