अत्तरिया - कैलाली जिल्ला रहेका आधा बढी स्थानीय तहबीच सीमा विवाद रहेको छ । जिल्ला समन्वय समिति, कैलालीका अनुसार जिल्लाको भजनी नगरपालिका , कैलारी गाउँपालिका र जोशीपुर गाउँपालिका बाहेकका सबै स्थानीय बीच सिमा विवाद रहेको हो ।
१३ वटा स्थानिय तह रहेको कैलालीको गोदावरी नगरपालिका र चुरे गाउँपालिका बीच सीमा विवाद रहेको छ भने चुरे गाउँपालिका र गौरीगंगा नगरपालिका, गौरीगंगा र मोहन्याल गाउँपालिका, मोहन्याल र घोडाघोडी नगरपालिका, मोहन्याल र बर्दगोरिया गाउँपालिका, मोहन्याल र लम्कीचुहा नगरपालिका, लम्कीचुहा र जानकी गाउँपालिका बीच सीमा विवाद देखिएको छ ।
टीकापुर नगरपालिका र ५ नम्बर प्रदेशको बर्दिया जिल्लाको राजापुर नगरपालिकाबीच पनि सीमा समस्या रहेको छ । यता गोदावरी नगरपालिकाका बिभिन्न वडा बिच पनि लामो समयदेखीको सिमा विवाद कायमै रहेको छ । स्थानीय तहबीच सीमा सम्बन्धी विवादको मुख्य जड चुरे तथा तराईको वनजंगल र नदीखोला रहेको देखिएका छन् ।
वनजंगल र नदी खोलामाथिको दोहन वा उपयोग अधिकार स्पष्ट नभएका कारण विवाद अझ बढेको देखिएको छ । स्थानीय तहले नदीखोला तथा वनजंगलको उपयोगको दाबी गर्दै आएपछि संरक्षण तथा व्यवस्थापनमा कमजोरी भइरहेको छ । जसले गर्दा काठपात सहित ढुंगा , बालुवा तथा नदी जन्य पदार्थको उत्खनन् र वन पैदावारको चोरी निकासी बढिरहेको स्थानीय नगर तथा गाउँबासीहरु बताउँछन् ।
यता जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाले स्थानीय तहबीचको सीमा सम्बन्धी विवाद छिट्टै समाधान हुने बताए । ‘विवाद उत्पन्न भएको स्थानमा नापी विभागको सर्भे टोली मार्फत सर्भे गरिसकेका छौ’ उनले भने – ‘नापी विभागको सोहि सर्भे प्रतिवेदनले स्थानीय तहबीचको सीमा विवादको समाधान अब चाडै हुनेछ ।’