कञ्चनपुर - जिल्लामा ५ सय १६ जना एचआइभी एड्स संक्रमित रहेको एक तथ्यांकले देखाएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले संकलन गरेको तथ्यांक अनुसार सबैभन्दा बढी भीमदत्त नगरपालिकामा १४६ जना एचआइभी एड्स संक्रमित रहेको पाइएको छ ।
यसैगरि बेदकोट नगरपालिकामा ९८ , महाकाली नगरपालिकामा ७४, शुक्लाफाँटा नगरपालिकामा ६१ , कृष्णपुर नगरपालिकामा ६३ , पुनर्वास नगरपालिकामा २५ , बेलौरी नगरपाकिकामा २१, लालझाडी गाँउपालिकामा ११ र बेलडाँडी गाउँपालिकामा १७ जना एचआइभी एड्स संक्रमित रहेको पाइएको छ । जसमध्ये दुई सय ७९ पुरुष, दुई सय ३६ महिला र एक जना तेश्रोलिंगीमा एचआइभी एड्सको संक्रमण फेला परेको हो ।
फेला परेका संक्रमितहरु मध्ये शरीरमा प्रतिरोधात्मक क्षमता बढाउने एआरभी औषधी सेवन गर्नेको संख्या ३०४ रहेको छ । सबैभन्दा बढी ३० वर्षदेखि ३९ वर्षसम्मका पुरुष र महिलामा एचआइभी एड्सको संक्रमण देखिएको छ । हालसम्म कञ्चनपुरमा एचआइभी एड्सबाट १४७ जनाको मृत्यु भएको छ । जसमध्ये पुरुष ९५ र महिला ५२ जना रहेका छन् ।
विगतका वर्षहरूमा भन्दा एड्सको संक्रमण दर भने केहि कम हुदै गएको देखिएको छ । कञ्चनपुरमा सन् २००६ मा ३१, २००७ मा ४९, २००८ मा ६७, २००९ मा ८९, २०१० मा ५५ मा २०११ मा ३८, २०१२ मा ५९, २०१३ मा २५, २०१४ मा २३, २०१५ मा २१, २०१६ मा २५, २०१७ मा २० र २०१८ मा २४ नयाँ एचआईभी संक्रमित देखिएका थिए ।
यौनकर्मी महिलासँग अशुरक्षित यौनसम्पर्क राख्ने ग्राहक एचआइभी एड्सबाट बढी संक्रमित भएको पाइएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक रतन विष्टले बताए। उनका अनुसार सबैभन्दा बढी प्रवासमा लामो समय बसेर फर्केका व्यक्तिमा एड्सको संक्रमण बढ्दो रुपमा रहेको छ ।