अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायतले बिभिन्न शिर्षकका कार्यक्रमहरुबाट आफुले प्राप्त गरेको भत्ताको रकमबाट एक बिधालयलाई सहयोग गरेकी छन् । गोदावरी नगरपालिकाको वडा न. १० को सितापुर ओलानीमा रहेको जानकी मा.वि.मा उनले भत्ताबाट प्राप्त रकमले १० ओटा सिलिङ पङ्खा खरिद गरेर सहयोग गरेकी हुन् ।
त्यस्तै उनले सामान्य वाईरिङ्ग वाफत बिधालयलाई नगद ५ हजार रुपैया पनि उपलब्ध गराएकी छन् । समाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै उप प्रमुख कडायतले भौतिक अबस्था कमजोर विद्यालयका नानी बावुहरुलाई पठन पाठन गर्न सहज होस भन्ने हेतुले आफ्नो ब्यक्तिगत तर्फबाटै बिद्यालयलाई सहयोग गरेको बताइन् ।
‘एक–दुई जना विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गरेर उनिहरुलाई पढाउनु भन्दा सम्पुर्ण विद्यालयका विद्यार्थीहरुलाई राहत पुग्ने केही सहयोग गर्नु उपयुक्त सोचेर , मैले उक्त सामग्रीहरु सहयोग गरेकी हुँ ’उनले भनिन् – ‘आगामी दिनहरुमा पनि विद्यालयलाई गर्न सकिने सहयोग मेरो तर्फवाट पुरा हुनेछ । ’
उनले विद्यालयको अवस्था एकदमै नाजुक रहेकाले थोरै मात्रामा भएपनि आफुले सहयोग गर्न पाउँदा खुशी लागेको बताईन । यसैगरी सामग्रीहरु लिदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डबल बहादुर बि.कले उपप्रमुख कडायतले दिएको सहयोगले विद्यालयका विद्यार्थीहरुलाई धेरै सहयोग पुग्ने बताए ।
गर्मि बढेसँगै विद्यार्थीहरुको पठनपाठन प्रभावित भईरहेको अवस्थामा उक्त सहयोगले विद्यार्थीहरुको पढाईमा सहयोग पुग्ने विश्वास लिएको उनले बताए । उनले बिधालयको अबस्था बुझेर सहयोग गर्ने उपप्रमुखलाई धन्यवाद दिए ।
सामग्री हस्तान्तरण कार्यक्रममा गोदावरी नगरपालिका कार्यपालीका सदस्य कृति कामी, वडा नं. १० का वडासदस्य निर्मला बि.क , विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष डबल बिक , स्थानिय बुद्धिजीवी, शिक्षक , बिधार्थीहरु र पत्रकारको सहभागिता रहेको थिए ।