कञ्चनपुर- ८२ वर्षीय पूर्वसांसद गंगादत्त जोशी कञ्चनपुरको भीमदत्तनगरपालिका अठारमा होली पर्वको खेलमा पाइला मिलाइरहेको अवस्थामा भेटिए । जोशी मात्रै नभई उनिसँग डडेल्धुराको रुपालबाट भीमदत्तनगरमा बसाइँ सरेका धेरै वृद्ध फागू पूर्णिमाका अवसरमा आयोजित परम्परागत रुपाली होलीमा रमाइरहेका थिए । वसन्त ऋतु र नयाँ वर्षको पूर्वसन्ध्यामा रंगिन पर्व होलीमा देशभर रमाइलो भइरहेका बेला यहाँ विगत ५० वर्षदेखि रुपाली होलीले निरन्तरता पाइरहेको छ।
'रुपाली होली कहिलेदेखि शुरु भयो भनेर तिथि मिति पत्ता लगाउन सकिएको छैन',पूर्वसांसद जोशीले भने,'आफ्नो परम्परा र संकस्कृतिको जगेर्ना गर्न युवा पुस्तालाई सहभागी गराउन होली रुपाली समुदायको घरघरमा पुगेर मनाउँछौँ।' विसं २०१८ देखि हालसम्म कञ्चनपुर,कैलालीलगायत मुलुकका विभिन्न भागमा बसाइँ सरेका डडेल्धुराको भागेश्वर गाउँपालिका दुई रुपालका स्थानीयवासी परम्परागत होलीलाई भव्यरुपमा मनाउँदै आएका भीमदत्तनगरका स्थानीयवासी अजुर्नदेव जोशी बताए । 'अनेकन चाडपर्व र कला संस्कृतिको बीचमा रुपाली होलीको आफ्नै लय, मान्यता र संस्कार छ',उनले भने, 'अनुमतिबिना र अपरिचितलाई जबर्जस्ती रङ लगाउने चलन छैन ।' दशकौँदेखि भीमदत्तनगरमा रुपाली होली समिति गठन गरी एकादशीदेखि पूर्णिमासम्म होली मनाउने गरिएको छ ।
रुपाली समुदायले होली सबैको घरमा पालैपालो खेल्छन् । फागू पूर्णिमामा मनाइने होली आध्यात्मिक,सांस्कृतिक,सामाजिक र मनोवैज्ञानिक महत्त्व बोकेको पर्व हो । 'देउडाजस्तै पाइलामा पाइला मिलाएर खेलिने रुपाली होलीमा भगवान् श्रीकृष्ण र रामको महिमा तथा चरित्रको गुणगान गाइन्छ ।' रुपाली होली समिति भीमदत्तनगरका सचिवसमेत रहेका जोशीले भने, 'युवापुस्ता रुपाली होलीबाट टाढा छैन ।' उनका अनुसार रुपाली समुदायले होली विशेषरूपमा मनाउने गरेको छ । होलीका बेला काम र अन्य हिसाबले बाहिरिएका पनि बिदा तथा समय मिलाएर घर फर्कन्छन्। नयाँ पुस्ताले रुपाली होलीको जर्गेना गर्नु जरुरी छ ।
भीमदत्त नगरपालिकाको जिमुवा, गोबरिया, निम्बुखेडा, भाषीलगायत क्षेत्रमा रहेका रुपालवासी अहिले समूह बनाएर परम्परागत होलीलाई निरन्तरता दिँदै आएका स्थानीयवासी जयराम पनेरुले बताए । 'सुदूरपश्चिम प्रदेशमा समुदायपिच्छे होली खेल्ने र मनाउने तरिका फरक-फरक छन्',चालिस वर्षदेखि निरन्तर रुपाली होली खेल्दै आएका पनेरुले भने, 'रुपाली होली शक्ति र श्रद्धाको खेल हो ।' आइतबार भीमदत्तनगरस्थित बैजनाथ मन्दिरमा पूजाअर्चना गरी शुरु भएको रुपाली होली पूर्णिमाका दिन सोही मन्दिरमा पुगी बिर्सजन गरिन्छ ।
होली खेलेर संकलन भएको रकम वैजनाथ मन्दिरको भौतिक पूर्वाधार निर्माणदेखि मर्मतसम्भारमा खर्च गरिँदै आएको समितिका सचिव अर्जुनदेव जोशीले बताए। भीमदत्तनगर र आसपासका क्षेत्रमा करीब २५० परिवार रुपाली समुदायको बसोबास छ । रुपालवासीको घरमा होली खेल्दा ढोलक र तवलाको धुनमा भगवानका गीत गाएर घरैपिच्छे अबीर लगाई रमाइलो गरिन्छ । भर्खर बिहे गरेका र सन्तान जन्माएकाहरुले होलीमा विशेष भोजन खुवाउने चलनसमेत रुपाली समुदायमा छ । रासस