महेन्द्रनगर-भीमदत्त नगपालिकामा नमूना युवा संसद स्थापना र अभ्यास कार्यक्रम सुरु भएको छ । तीन दिनसम्म चल्ने कार्यक्रममा भीनपाका १९ वडाबाट दुई÷दुई र अन्य राजनीति दल सम्बद्ध युवा संगठनका युवा सहभागी भएका छन् ।भीमदत्त नगरपालिकाको सभाकक्षमा बिहीबार नगर प्रमुख सुरेन्द्र विष्टले ब्यानर वाचन गरी संसद स्थापना र अभ्यास कार्यक्रमको उद्घाटन गरे ।
‘नमूना युवा संसद कार्यक्रम स्थापना र अभ्यास कार्यक्रम यस वर्षदेखि नगरपालिकामा सुरु गरिएको छ’ उनले भने, ‘यो कार्यक्रमबाट मुलुक सञ्चालन सम्बन्धी जानकारी हुन्छ, तीन दिनमा त्यो अभ्यास गरिन्छ ।’देश विकास र समृद्धिमा युवा मेरुदण्ड भएको उल्लेख गर्दै नगर प्रमुख विष्टले सबै क्षेत्रमा सहकार्य र समन्वय आवश्यक हुने बताए । ‘युवाको सहकार्य विना कुनै किसिमका काम सम्भव हुँदैन, त्यस प्रकारको युवाको नेतृत्व क्षमता विकास गरी जानु पर्ने आवश्यकता छ ।’नगर प्रमुख विष्टले नयाँ संचरना अनुसार मुलुकलाई समृद्ध बनाउन उत्पादन र श्रम सम्बन्धलाई एक ठाउँमा लिएर पूँजी र प्रविधि परिचालन गर्नु पर्ने आवश्यकता औंल्याए ।
सरकारले आर्थिक वर्ष ०७४÷०७५ देखि युवाको क्षमता विकास गरी संविधान, कानून तथा संसदीय अभ्यासबारे जानकारी गराउन र सुसूचित गराउँदै उनीहरुलाई अधिकार, कर्तव्य र जिम्मेवारी युवाको नेतृत्व क्षमता विकास र परिचालनका लागि कार्यक्रम सुरु गरिएको थियो ।उद्घाटन कार्यक्रममा जिल्ला युवा समितिका अध्यक्ष महेश प्रसाद पन्तले नमूना अभ्यास संसदीय अभ्यास भएकाले सबैले मर्यादित भएर कार्यक्रममा सहभागी हुने बताए । ‘यो संसदीय अभ्यास नै हो, यसमा मर्मादित भएर बस्छौ, संसदीय अभ्यास गर्छौ’ उनले भने । राजनीतिक दलहरुले चुनावमा गरेका प्रतिवद्धताहरु पूरा भए नभएको हेरेर युवाले दबाव दिनु पर्ने अध्यक्ष पन्तले बताए । तीन दिने कार्यक्रमलाई अध्यक्ष पन्तले सहजीकरण गरिरहेका छन् ।दुई दिन सहभागीहरुलाई राष्ट्रिय युवा नीति, संविधान, नीत नियम र संसदीय व्यवस्था अनुसारका जिम्मेवारी बाँडफाँट लगायतका अभ्यास गरिनेछ ।
अन्तिम दिन सभा कक्षमा नमूना संसद सञ्चालन गरिने युवा समितिका कान्तुराम पनेरुले बताए ।उद्घाटन कार्यक्रममा भीनपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रसाद भट्टले नमूना युवा संसद अभ्यास कार्यक्रमले युवा परिचालनलाई सहयोग पुग्ने बताए ।कार्यक्रममा सहभागी भीनपा वडा नं. १८ युवा बासुदेब भट्टले कार्यक्रमबाट युवालाई संसदीय अभ्यास सम्बन्धी जानकारी हुने बताए ।