अत्तरिया - अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटा सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान आफ्नो धारणा राख्न उद्योग वाणिज्य संघले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका अध्यक्ष देवकोटा सहित ३ जनालाई पत्रकार सम्मेलन पश्चात नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीवाट डीएसपी ज्ञानबहादुर विष्टको नेतृत्वमा गएको प्रहरीको टोलीले अध्यक्ष देवकोटा सहित उद्योग वाणिज्य संघ सदस्य विपिन कुमार साउद र दिनेश बिष्टलाई नियन्त्रणमा लिएको हो । गोदावरी नगरपालिकाले यहि असार १० आयोजना गरेको तेस्रो नगर सभाको उद्घाटन कार्यक्रममा माइक तोडफोड गरेको, माइकको तार काटेको र कार्यक्रम विथोल्ने प्रयास गरेको भन्दै नगरपालिकाले देवकोटासहितका ८ जनाविरुद्ध किटानी दिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरीले जानकारी दिए ।
उनले पत्रकार सम्मेलन कार्यक्रममा सहभागी भएका बेला तिनै जनालाई नियन्त्रणमा लिएको बताए । नगरपालिकाले केहि दिन पहिले अध्यक्ष देवकोटा सहित ८ जना विरुद्ध सार्वजनिक हित विपरितको क्रियाकलाप गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा मुद्दा दायर गरेको थियो ।
पक्राउ परेका तीनैजना जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेको र कानुनी कारबहि अगाडी बढिरहेको प्रहरी प्रमुख प्रहरी उपरिक्षक गिरीले बताए ।
यहि असार १० गते सम्पन्न गोदावरी नगरपालिकाको तेस्रो नगरसभाको उदघाटन सत्रको कार्यक्रममा आफुहरुले पनि स्थानीय ब्यापारीहरुका समस्याहरु राख्न पाउनुपर्ने भन्दै अत्तरिया उधोग बाणिज्य संघका अध्यक्ष देबकोटा नेत्रित्वको समुहले अबरोधको प्रयास गरेका थिए । कार्यक्रममा प्रमुख अतीथी रहेका पुर्बमन्त्री लेखराज भट्ट र बिशिष्ट अतिथी रहेका सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले बोल्ने बेला पटक पटक माईकको तारमा अबरोधको प्रयास गरिएको थियो ।
नगरपालिकाले अध्यक्ष देवकोटा सहित सचिब शंकर खड्का , सदस्य दिपिन कुमार साउद , सदस्य रविन्द्र खनाल , स्थानिय ब्यापारी राजेन्द्र बोगटी , केशब नौन्याल , दिनेश बिष्ट र मोहोन पाठकको नाममा जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक हित बिरुद्धको मुद्धा दर्ता गरेको छ । मुद्दा दर्ता भएपछि प्रहरीले देबकोटा लगाएत सबैको खोजी गरिरहेको थियो । अन्यको पनि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।