धनगढी - सुदुरपश्चिम प्रदेशको एक मात्र रेफरल अस्पतालको रुपमा रहेको सेती अञ्चल अस्पताल प्रति बिरामीहरुको विश्वास घट्दै गएको छ । दैनिक अत्याधिक रुपमा बिरामीको चाप हुने अञ्चल अस्पतालको सेवा सुबिधा अझै प्रभावकारी बन्न नसक्द बिरामीहरुको विश्वास घट्दै गएको हो ।
सेती अञ्चल अस्पतालमा सबै भन्दा बढी बिरामीको चाप सुत्केरी वार्डमा हुने गरेको छ । कञ्चनपुरको महाकाली अञ्चल अस्पताल र सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा पनि मेजर खालको शल्याक्रिया नहुने भएकाले बढि जसो गर्भवती महिला सुत्केरी हुन सेती अस्पतालमै जाने गरेका छन् । २०७५ फागुन मसान्त सम्मको तथ्यांक अनुसार सेती अञ्चल अस्पतालमा पाँच हजार दुई सय ६७ महिला सुत्केरी भएका छन् ।
यसैबिच सेती अञ्चल अस्पतालको लापरबाहीले धनगढीकी एक सुत्केरीको मृत्यु भएको मृतकका आफन्तले आरोप लगाएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर २ बस्ने दुर्गा जोशीलाई उच्च रक्तश्राव हुदा अञ्चल अस्पताल भर्ना गरिएपछि चिकित्सकहरुको लापरवाहीले गर्दा उनको मृत्यु भएको आफन्तले आरोप लगाएका हुन् ।
मृतकका बुवा ताराप्रसाद जोशी र वडा नम्वर २ का स्थानीयहरुले सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुबेदी र सेती अञ्चल अस्पताललाई ज्ञापन पत्र बुझाउँदै घटनाबारे छानविनको माग गरेका छन् । मृतकका वुवा जोशीका अनुसार रक्तश्राव भएपछि असार ८ गते अस्पताल पुगाएकी दुर्गाको र शिशुको अवस्था सुरुमा सामान्य रहेको र त्यसपछि जोखिम भएको भन्दै शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पछि चिकित्सकहरुले आमा र शिशुको अवस्था सामान्य रहेको बताएको थियो ।
तर पछि दुर्गाको स्वास्थ्य अवस्था नाजुक हुदै गएपछि आईसियुमा राखिएको वुवा जोशीले बताए । असार १० गते सम्म पनि दुर्गाको स्वास्थ्यमा सुधार नआएपछि सिटी स्क्यान गर्दा ब्रेनमा रगत जमेको पाईएपछि थप उपचारका लागि काठमाण्डौं लैजाने प्रयास गरिएको थियो । तर त्यो प्रयास सफल नभएपछि उनलाई उपचारका लागि भारतको बरेली स्थित राममुर्ती मेडिकल कलेज पु¥याए पनि त्यहाँका डाक्टरले निकै ढिलो भएका कारण बिरामी बचाउन नसकिने बताएको जोशीले बताए ।
बरेलीबाट फिर्ता ल्याइएकी दुर्गााको आसार १२ गते महाकाली अस्पतालमा मृत्यु भएको हो । सेती अस्पतालकै चिकित्सक र कर्मचारीको लापरवाहीले गर्दा नै आफ्नो छोरीको ज्यान गएको मृतकका बुवाको भनाई छ । उनले दोषीलाई कडा भन्दा कडा कारवाही र क्षतिपूति उपलब्ध गर्नु पर्ने नभए आफुहरु कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।
सेती अञ्चल अस्पतालमा ५ जना स्त्री तथा प्रसुती रोग विषेशज्ञ कार्यरत रहेका छन् । अञ्चल अस्पतालमा चालु आर्थिक वर्षको फागुनसम्म ८४ जना शिशुको मृत्यु भएको छ । ६४ जना पेटमै , १८ जना जन्मने वित्तिकै र २ जना जन्मेको ७ दिनमा मरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले बताए । गत आर्थिक वर्षमा १३६ जना शिशुको मृत्यु भएको थियो।