महेन्द्रनगर-भीमदत्त नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ । कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा. दिपक प्रकाश भट्टको प्रमुख आतिथ्यमा कार्यक्रम गरी घोषणा गरिएको छ ।भीनपाका सबै १९ ओटै वडालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरी नगरपालिकालाई घोषणा गरिएको छ । पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणाका लागि गत बैशाखमा घरधुरी सर्भेक्षण गरी खोप लगाउन छुटेका बालबालिकाका लागि ११ रोगका विरुद्ध खोप सञ्चालन गरिएको थियो ।
नगरपालिकामा १५–२३ महिनाका एक हजार तीन सय ८६ मध्ये खोपबाट वञ्चित ४१ बालबालिका भेटिएका थिए ।भीनपा स्वास्थ्य तथा सरसफाई उप शाखाका अनुसार नगर क्षेत्रमा जन्मेदेखि १५ महिनासम्मका एक हजार नौ सय दुई बालबालिका छन् । नगरपालिकाले घरधुरी सर्भेक्षणका क्रममा भेटेका सबै बालबालिकालाई बिसीजी, डिपिटी, एचबी, पोलियो, दादुरा रुबेला लगायतका ११ रोगका विरुद्ध खोप लगाएको छ ।
घोषणा सभाका प्रमुख अतिति डा. भट्टले लामो समयदेखि सञ्चालन हुँदै आएको खोप अभियान निरन्तर रुपमा अघि बढेको बताए । उनले भीमदत्त नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरपालिका बनाउन सहयोग गर्ने सबै क्षेत्रलाई धन्यवाद दिर्दै आगामी दिनमा स्वास्थ्य क्षेत्रको विकासका सरकारले थप कार्यक्रम ल्याउने बताए ।
कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले घोषणालाई सार्थक र दिगो बनाउन थप कार्यक्रम सञ्चालन गरिने बताए । ‘आज पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको छ, यसमा सहयोग गर्न हुने सबैलाई धन्यवाद दिन चाहन्छौ, आगामी दिनमा स्वास्थ्य क्षेत्रको विकासका लागि सबैसित सहकार्यलाई निरन्तरता दिन्छौ’ उनले भने,‘ यसलाई दिगो बनाउन थप कार्यक्रम सञ्चालन गर्छौ ।’
स्वास्थ्य विभागका अनुसार देशभर अझै ८३ प्रतिशत बालबालिका खोप सेवाबाट वञ्चित छन् । सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुर बाहेक पहाडी जिल्लामा खोप लगाउने बालबालिकाको दर सन्तोसजनक नभएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।स्वास्थ्य कार्यालयका प्रमुख चन्दले खोप लगाउने दर ९५ प्रतिशत पुगेपछि मात्रै सन्तोसजनक मानिने बताए ।