काठमाण्डौ - बैतडीकी १७ बर्षिय किशोरी भागरथी भट्टको सफल अनुसन्धान गरेको भन्दै प्रहरी प्रधान कार्यालयले दुई कनिष्ठ प्रहरीको एक तह बढुवा गरेको छ ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले तोकिएको जिम्मेवारी पूर्ण निष्ठा र लगनका साथ सम्पादन गरी प्रहरी संगठनको प्रतिष्ठा र गौरव बढाएको भन्दै अनुसन्धान संलग्न दुई कनिष्ठ प्रहरीको एक तह बढुवा र ५ अधिकृतलाई नगद पुरस्कार प्रदान गरेका हुन् ।
जसमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलका प्रहरी सहायक निरीक्षक (असई) पदमबहादुर थापा प्रहरी नायब निरीक्षक (सई) मा बढुवा भएका छन् भने इलाका प्रहरी कार्यालय, राजापुर बर्दिया दरबन्दी भएका प्रहरी जवान नरबहादुर थापा प्रहरी हवल्दार पदमा पदोन्नति भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार बढुवा गरिएका थापाले भागरथी प्रकरणसँगै कैलालीमा भएको दुई प्रहरीको हत्या, कञ्चनपुरमा भएको खण्टी भुलको हत्या लगायतका घटनाको प्रतिवादी समात्न महत्वपूर्ण भूमिका खेलेको भनिएको छ । जवान नरबहादुरले भागरथी, दुई प्रहरीको हत्या सहित बझाङमा भएको सम्झना विकको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा महत्वपूर्ण भूमिका खेलेका थिए ।
यस्तै भागरथी हत्या प्रकरणमा सुरुदेखी नै संलग्न सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदी सहित ५ जनाले नगद पुरस्कार पाएका छन् । तत्कालै घटनास्थलमा पुगेर अनुसन्धान सफल बनाउन भूमिका खेलेको भन्दै उनलाई नगद पुरस्कार दिइएको हो ।
पुरस्कृत हुनेमा डिआईजी सुबेदी , जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायणप्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो दरवन्दी भएका डीएसपी पञ्चकुमार बाखु, महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिचालन कक्ष दरवन्दीका प्रहरी नायब निरीक्षक दुर्गा कुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुला दरवन्दीका प्रहरी जवान अशोक बहादुर कुँवर छन् ।
पाँचै जनाले भागरथी प्रकरणको अनुसन्धानमा देखाएको प्रशंसनीय कार्यको कदर स्वरूप प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १९७ को देहाय (क) बमोजिम अभिलेखमा जनिने गरी नगद पुरस्कार दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।