बाजुरा - जिल्लाका ग्रामीण क्षेत्रमा निर्माण भएका सडकमा सञ्चालन हुँदै आएका जीपको भाडादर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । प्रशासनले सर्वपक्षीय भेलाबाट उक्त भाडा दर कायम गरेको हो । पूर्वी उत्तरी भेगमा जोडिएको मार्तडी–कोल्टी, मार्तडी गौमुल, मार्तडी आटिचौरलगायत सडकको प्रतिकिलोमिटरमा ११ रुपैयाँका दरले भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए । जीप व्यवसायीले चर्को भाडा लिने गरेको चौतर्फीरुपमा गुनासो आएकाले व्यवसायी, राजनीतिक दल, सुरक्षा निकायका प्रमुख र सञ्चारकर्मीलगायत सर्वपक्षीय भेलाबाट उक्त भाडा लिने सहमति भएको गैह्रेले बताए ।
![Siddi ganesh sun pasal](https://www.godawarinews.com/uploads/bigyaapan/33893900.gif)
जीप व्यवसायीले मनोमानी भाडा असुल्ने र क्षमताभन्दा बढी यात्रु राख्ने गरेकाले सोमबार जिल्ला प्रहरी कार्यालय बाजुरामा व्यवसायीहरुलाई बोलाएर मार्तडी–कोल्टी र अन्य सडकमा सञ्चालन हुने जीपका लागि भाडा कायम गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक मदनजीत महराले जानकारी दिए ।
मार्तडीदेखि कोल्टीको प्रतिकिलोमिटर ११ का दरले ४७३ रुपेयाँ भाडादर कायम गरिएको र सो भाडा अन्य ग्रामीण सडकमा चल्ने जीपका व्यवसायीले समेत लागू गर्नुपर्ने प्रहरीप्रमुख महराले बताए । सर्वपक्षीय भेलाले रुट अनुमति नभएका सवारी साधन र सवारी चालक अनुमतिपत्र नभएका चालकले सवारी साधन चलाउन नपाउने र चलाएको पाइएमा कानूनी कारवाही गर्ने निर्णय गरिएको छ ।
चलानी पत्र र टिकट अनिवार्य काट्नुपर्ने तथा जीपमा भाडादर टाँस्नुपर्ने सो नगरिएमा कानूनी कारवाही गरिने भएको छ । यस्तै जथाभावीरुपमा सवारी साधन पार्किङ गर्न नपाइने, दुनिहाट बजारका हकमा साँझ ७ र बिहान १० बजेसम्म मात्र सामान लोड अनलोड गर्ने र सो नगरिएमा कानूनी कारवाही गर्ने निर्णय गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।सर्वपक्षीय बैठकमा गरिएको मार्तडी कोल्टी र अन्य ग्रामीण सडकमा सञ्चालन हुने जीपको भाडा प्रतिकिलोमिटर ११ रुपैयाँका दरले ४७३ कायम गरिएकोमा व्यवसायीहरुले असुन्तुष्टि जनाएका छन् । व्यवसायीहरुले मार्तडीदेखि कोल्टीसम्मको ८०० रुपैया भाडा बनाई दिन माग गरेपनि सर्वपक्षीय बैठकले ४७३ रुपैयाँ भाडादर कायम गरेपछि असन्तुष्टी जनाएका हुन् ।
जय मालिका यातायात प्रालि बाजुराका उपाध्यक्ष पृथ्वी रावलले कोल्टी क्षेत्रमा जीपहरु सो भाडामा सञ्चालन गर्न नसकिने भएकाले रिजर्भबाहेकमा जीपहरु पुनः सञ्चालन नगर्ने बताए । जीप व्यवसायी, बडीमालिका नगरपालिकाका नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रतिनिधि, प्रहरीप्रमुख र पत्रकारहरुको सर्वपक्षीय बैठकले उक्त भाडा निर्धारण गरेको हो । रासस