काठमाडौं - दुई महिनादेखि जारी प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दामाथिको बहस सकिएको छ । एमिकस क्युरीका तर्फबाट शुक्रबार वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले आफ्नो राय राखेपछि बहस सकिएको हो। यसअघि एमिकस क्यूरीका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्यले बहस गरेका थिए।
बहस सकिएपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले फागुन १० गतेभित्र बहस नोट दिन माग गरेको छ। संवैधानिक इजलासको नेतृतव गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले रिटमा पक्ष, विपक्ष र एमिकस क्युरीमा चयन भएका कानुन व्यवसायीलाई १० गतेभित्र बहस नोट दिन आग्रह गरेका हुन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले फागुन ११ गते मुद्दा हेर्दाहेर्दैमा राखेको बताएका छन्।
गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतमा दर्जन बढी रिट परेका थिए। रिट निवेदनमाथि पहिलो सुनुवाइ गर्दै पुस १० गते संवैधानिक इजलाशले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपति कार्यालयलाई लाई प्रतिनिधिसभा विघटन गर्नुको लिखित जवाफ पेस गर्न आदेश दिएका थियो।
त्यसपछि रिट निवेदकले संसद विघटन मुद्दाको सुनुवाइ वृह्तपूर्ण इजलासमा हुनुपर्ने माग गर्दै फेरि रिट हालेका थिए। तर, प्रधानन्यायाधीश राणाले ठाउँ अभाव देखाएर मुद्दाको सुनुवाइ वृहतपूर्ण इजलाशमा नभइ संवैधानिक इजलासमै गर्ने आदेश दिएका थिए। ।
संसद विघटन असंवैधानिक भन्दै करिब साढे तीन सय बढी कानुन व्यवसायीले बहस गरेका छन्। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई खेमा भएको छ। एक समूहको नेतृत्व केपी ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव कुमार नेपालले गरेका छन्। अहिलेसम्म दुईवटै समूहको आधिकारिकताको विषयमा आयोगले निर्णय गर्न सकेको छैन। साभार अन्नपूर्ण