महेन्द्रनगर - कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत वर्ष चैतको दोस्रो सातादेखि बन्द गरिएको पश्चिम नेपालको गड्डा चौकी नाका पूर्ण रुपमा खुलाउन यहाँका आठ वटा व्यवसायी सङ्घले माग गरेका छन्। सरकारले केही समयअघि मन्त्रिपरिषद्को निर्णय गर्दै यहाँको गड्डा चौकी नाका र डोकेबजारस्थित गौरीफन्टा नाका पुनः सञ्चालन गरिएको बताए पनि गड्डा चौकी नाका भने सहज भइसकेको छैन ।
कञ्चनपुर उद्योग वाणिज्य सङ्घको अगुवाईमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोमार्फत व्यवसयी तथा व्यापारीले नाका सहज बनाउन माग गरेका हुन। सो सम्बन्धि ज्ञापन बुझाउँदै कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले सरकारले नाका खुलेको घोषणा गरे पनि गड्डा चौकी नाकामा आवागमन सहज नभएको बताए।
उनले भारत जाने नेपाली मजदुरलाई प्रक्रिया पूरा गरी निश्चित समय आउन जान दिइएपनि किनमेलका लागि सीमावर्ती भारतीय बजार जान रोक नै लगाइएको बताए।
“भारतबाट सामान आयात भइरहेपनि भारतीयलाई यहाँबाट निर्वाध आउन अझै रोकिएको छ”, उनले भने, “ केन्द्रले नाका खुलाउने तर स्थानीय प्रशासनले कडाइ गर्दा यात्रुहरु पनि समस्यामा परेका छन्।”
उनले नाका नखुल्दा व्यापारी तथा व्यवसायी पनि प्रभावित भइरहेको जानकारी दिए। नाका खुलाउन माग गर्दै उद्योग वाणिज्य सङ्घसँगै महाकाली यातायात प्रालि, पवनदूत यातायात सार्वजनिक प्रालि, कञ्चनपुर होटल व्यवसायी सङ्घ, मण्डी व्यवसायी सङ्घ, नेपाल औषधि व्यवसायी सङ्घ, नमस्ते शुक्लाफाँटा यातायात प्रालि र हार्डवेयर तथा निर्माण सामग्री व्यवसायी सङ्घको पदाधीकारीको टोलीले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय पुगेर नाकालाई सहज बनाउने मागसहितको ज्ञापन प्रमुख जिल्ला अधिकारीलाई बुझाइको थियो।
त्यसैगरी होटल व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष जगदीशचन्द्र भट्टले गड्डा चौकी नाका सहज सञ्चालन हुन नसक्दा महेन्द्रनगरसहित सीमावर्ती क्षेत्रका होटल व्यवसायी नराम्ररी प्रभावित भएको बताए। उनले कोरोना सामान्य बन्दै गइरहेका बेला भारतीय पर्यटकहरु यहाँ घुम्न आउन खोजिरहेको भए पनि नाका खुला नभएका कारण आउन नसकिरहेको बताए।
भारतसित स्थलमार्गबाट सबैभन्दा छोटो दूरीको नाका गड्डा चौकी रहेको उहाँको भनाइ थियो। गत वर्ष चैतमा बन्द गरिएको नाका आंशिक केही शर्तसहित सञ्चालन भए पनि अझैसम्म पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन। गत असारदेखि व्यावसायिक सरसमान तथा प्रशासनको अनुमतिमा आउजाउ भइरहेको छ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले निश्चित मापदण्ड पूरा गरेर सीमामा आवागमन भइरहेको बताए। उनले भारतीय नागरिकलाई नेपाल आउन अनलाइन फारम भरेर बारकोड पाएपछि मात्रै आउन मिल्ने विधि अपनाइएको जानकारी दिए।
उनले गड्डा चौकी नाका हरेक दिन बिहान ६ देखि १० बजेसम्म पुनःसञ्चालन हुने गरेको भए पनि गौरीफन्टा नाका भने सहज रुपमा सञ्चालनमा रहेको जानकारी दिए। नाका पुनःसञ्चालन नहुँदा कञ्चनपुर भन्सार कार्यालयले राजश्व सङ्कलन प्रभावित बनेको छ। रासस