बैतडी - जिल्लाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीले डेढ बर्षपछि चिकित्सक पाएको छ । एकजना मेडिकल अधिकृतको दरबन्दी रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा धेरै समस्या भईरहेको थियो ।
नगरपालिकाले आह्वान गरेको विज्ञापनमा एकजना चिकित्सक प्राथमिक स्वास्थ्य केन्द्रमा काम गर्ने गरेर छनौट भएका नगरपालिकाका उपप्रमुख राधा ओझाले जानकारी दिइन ।नगरपालिकाको लामो प्रयासपछि प्राथमिक स्वास्थ्य केन्द्रले डाक्टर पाएको उनले बताइन् । उनले भनिन् , ‘हामीले नगरपालिकाबाट पनि थप पारिश्रमिक दिने गरेर डाक्टर नियुक्त गरेका छौं । अबका दिनमा प्राथमिक स्वास्थ्य केन्द्रलाई सेवा प्रवाहमा सहज हुने हामीले विश्वास गरेका छौं ।’
जिल्लाको तल्लोसोराड क्षेत्रको रेफरल सेन्टरको रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा बेलाबेलामा चिकित्सकको अभाव हुने गरेको छ । अहिले प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक आएपछि अब तल्लोसोराडबासीलाई सजिलो हुने स्थानीय केशवसिंह भाटले जानकारी दिए । उनले भने , ‘लामो समयपछि प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक आएका छन् । अब उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य हुनेछ ।’केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका लागि नगरपालिकाले आह्वान गरेको आवदेनमा डाक्टर सुनिलसिंह पूजारा छनौट भएका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए । डाक्टर पुजाराले आज देखि सेवा शुरु गर्ने उनले बताए ।
प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक आएसंगै रोकिएका एक्सरे सेवा, इसिजी सेवा, अल्ट्रासाउण्ड सेवा, पोष्टमार्टम लगायतका सेवाहरु सञ्चालन हुनेछन् । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य बीमाको पनि सूचीकृत संस्था भएकाले डाक्टरको अभावमा बिमीतहरुले सेवा पाउन मुस्कील भएको थियो । अब डाक्टर आएपछि ती सेवाहरु पनि सुचारु हुने स्वास्थ्य शाखा प्रमुख चन्दले जानकारी दिए ।
केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले स्थापना भएको करीब १६ बर्ष पछि दुई बर्ष पहिला डाक्टर पाएको थियो । त्यसपछि दुई बर्ष यता प्राथमिक स्वास्थ्य केन्द्र हेल्थ असिष्टेन्टकै भरमा सञ्चालन भईरहेको थियो । नगरपालिकाले पटक पटक डाक्टरका लागि आवेदन आह्वान गरेको भएपनि पछिल्लो पटकको आवेदनमा डाक्टर पाएको स्वास्थ्य शाखा प्रमुख चन्दले जानकारी दिए ।