अत्तरिया - सरकारले पहिलो चरणको प्राथमिकतामा परेका तर लगाउन छुटेकाहरुलाई आजदेखी कोरोना विरुद्धको खोप लगाउन लागेको छ । आज देखी ८ गतेसम्म देशभरका सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई खोप दिन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै सिमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मी र पहिला छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शववाहन चालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीले खोप लगाउने पाउने छन् । खोप लगाउन जाँदा परिचय पत्र साथमा अनिवार्य बोक्नुपर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
पहिलो प्राथमिकतामा परेका तर लगाउन छुटेकाहरुलाई पनि यसै चरणमा खोप उपलब्ध गराइने छ । सरकारले पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शव बाहन चालक, सीमा सुरक्षामा खटिएकाहरुलाई खोप उपलब्ध गराएको थियो ।
अहिलेसम्म २ लाखको हाराहारीमा खोप लगाइएको र थप तीन लाख डोज अझै दिन सकिने भएकाले विभिन्न क्षेत्रका निकायलाई तोकिएको हो । यसैबिच स्वास्थ्य कार्यालय कैलालीले अत्तरिया सहित जिल्लाका ७ स्थानमा खोप केन्द्र तोकेको छ ।
स्वास्थ्य कार्यालयले जिल्लामा विभिन्न ७ स्थानमा निर्धारण गरिएकाले केन्द्रबाट लक्षित समूहले खोप लगाउन पाउने छन् । धनगढी स्थित स्वास्थ्य कार्यालय, गोदावरी नगरपालिकाको मालाखेति अस्पताल, चौमाला प्राथमिक स्वास्थ्य केन्द्र , लम्कीचुहा अस्पताल, जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्र, भजनी प्राथमिकथता स्वास्थ्य केन्द्र र टीकापुर अस्पतालबाट पनि लक्षित समूहले खोप लगाउन पाउने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लालबहादुर धामीले जानकारी दिए ।
गोदावरी नगपरपालिका भित्रका लक्षित समुहहरुले मालाखेती अस्पतालमा गई खोप लगाउन सक्ने छन् ।
प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले कैलालीका ४ हजार जनालाई लगाउन मिल्ने गरि खोप उपलब्ध गराएको छ ।