अत्तरिया - असार १५ पुगिसक्दा देशभर १४.२५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । प्रमुख खाद्यान्न बाली धानका लागि पानी अभाव हुँदा यस वर्ष रोपाइँ न्यून भएको हो ।
यस वर्ष पहाड र तराई दुवै स्थानमा मौसमले साथ दिएको छैन । पर्याप्त वर्षा नहुँदा सिँचाइ सुविधा भएका स्थानमा समेत खेत बाँझै छ । नेपालको कुल खेतीयोग्य जमिनमध्ये ४८.३ प्रतिशत क्षेत्रफलमा धानखेती हुने गर्दछन् । यसमध्ये क्षेत्रफल र उत्पादनका आधारमा तराईको हिस्सा ७० प्रतिशतभन्दा बढी छ । नेपालमा वार्षिक ६९ लाख टन धानको माग छ । चामलको हिसाब गर्दा ४६ लाख ९२ हजार टन माग छ । यसरी हेर्दा बर्षेनी ५ देखि ६ लाख टन चामल अपुग रहेको छ । चालु आर्थिक वर्षको ११ महिनामा ३० अर्बको चामल आयात भएको छ । नेपालका थुप्रै स्थानमा आकाशेपानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समयमा पानी नपर्दा रोपाइँ कम भएको जानकारी दिएको छ। सरकारी तथ्यांकअनुसार १५ गतेसम्म उच्च पहाडमा ३९ प्रतिशत, पहाडमा २२ र तराईमा ११ प्रतिशत रोपाइँ भएको छ। गत वर्ष यस अवधिमा १५।९ प्रतिशत रोपाइँ भएको थियो । कृषि विभागका निमित्ता महानिर्देशक डा। रेवतीरमण पौडेलले मनसुनी वर्षाको अभावमा यो वर्ष कम परिमाणमा रोपाइँ भएको जानकारी दिए।
उनका अनुसार सबैभन्दा कम तराईमा करिब ११ प्रतिशत, उच्च पहाडमा ३९ र मध्य पहाडमा २२ प्रतिशत रोपाइँ भएको छ । तराईमा १० लाख ९४ हजार ६ सय ३६ हेक्टर, मध्य पहाडमा ३ लाख ९९ हजार ६ सय ७५ हेक्टर र उच्च पहाडमा ५८ हजार एक सय ५८ हेक्टर जमिनमा धानखेती गरिन्छ । मौसमको प्रतिकूलताका कारण यस वर्ष धान उत्पान करिब ५ प्रतिशत घट्ने सरकारी अनुमान छ। सरकारी प्रतिवेदनअनुसार यो वर्ष ५६ लाख १० हजार टन धान उत्पादन हुने प्रक्षेपण गरिएको छ ।
समयमा रासायनिक मल उपलब्ध नहुने हो भने धान उत्पादन ठूलै परिमाणमा घट्ने किसानको भनाइ छ । यता सुदुरपश्चिम प्रदेशमा अहिले सम्म २२ दशमलब ५ प्रतिशत धान रोपाई सम्पन्न भएको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । यस बर्ष पश्चिममा ढिलो गरी मनसुन भित्रिएकाले अहिले सम्म २२ दशमलब ५ प्रतिशत धान रोपाई सम्पन्न भएको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका बरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशी बताए ।
उनका अनुसार सबै भन्दाँ बढी बझाङ जिल्लामा र सबै भन्दाँ कम कैलाली र कञ्चनपुरमा रोपाई सम्पन्न भएको छ । सुदुरपश्चिम प्रदेशमा १ लाख ८१ हजार ९६ हेक्टरमा धानको खेती हुदै आएको मन्त्रालयले जानकारी दिएको छ । यस प्रदेशमा धानको उत्पादन औसतमा बार्षिक ६ लाख ४८ हजार मेट्रिक टन रहेको छ ।