काठमाण्डौ - आज २६ औं जनयुद्ध दिवस । पूर्व माओवादीहरुले बिभिन्न कार्यक्रमहर गरि मनाउँदैछन् । गणतन्त्र र नयाँ जनवादीसत्ता स्थापनाको लक्ष्य सहित प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो ।
रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैंक कब्जा गरी माओवादीले जनयुद्धको सुरु भएको घोषणा गरेको थियो । बिहानपख २ बजे माओवादीहरुले आठबिसकोट चौकीबाट हतियार तथा बन्दोबस्दीका समान कब्जामा लिएका थिए ।
नेकपा माओवादीका तत्कालीन महामन्त्री प्रचण्डले प्रेस वक्तव्यमार्फत् जनयुद्ध सुरु भएको घोषणासहित गरिएका फौजी कारबाहीहरूको जिम्मेवारी लिएका थिए । जनयुद्धलाई सघाएको आरोपमा प्रहरीले गोरखाका १४ वर्षीय दिलबहादुर रम्तेललाई गोली हानी हत्या गरेको थियो ।
उनै रम्तेललाई जनयुद्धको पहिलो सहिदको सम्मान दिने गरिएको छ । त्यसपछि फागुन १५ गते प्रहरीले रुकुमको पिपलमा ६ जना खत्री बन्धुहरुको सामूहिक हत्या गरेको थियो । बदला र प्रतिशोधका कारण सरकार र विद्रोही माओवादीबीच हत्याका श्रृंखला चलेका थिए ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले मुलुकमा जारी द्वन्द्वलाई देखाएर सत्ता हातमा लिएपछि माओवादी र प्रमुख सात राजनीतिक दलहरुबीच १२ बुँदे सहमति भएको थियो । सोही सहमतिअनुसार २०६२ चैत २४ गतेदेखि २०६३ वैशाख ११ सम्म चलेको १९ दिने जनआन्दोलनले संसद पुनःस्थापना गरेको थियो ।
यहीबीचमा २०६३ मंसिर ५ गते माओवादी युद्ध अन्त्य गर्दै शान्ति प्रक्रियामा आएको थियो । विस्तृत शान्ति सम्झौतामा राष्ट्राध्यक्षको समेत कार्यभार सम्हालेका तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस सभापति गिरिजा प्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका थिए ।
पुनःस्थापित संसदले २०६५ जेठ १५ गते नेपालमा राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गरेको थियो । १० वर्षसम्म चलेको जनयुद्धमा सरकार र माओवादी दुवैतर्फबाट १७ हजार जनाको मृत्यु भएको थियो भने कयौं बेपत्ता र अंगभंग भएका छन् ।