अत्तरिया - कैलालीको गोदावरी नगरपालिकामा भूमिहिन सुकुम्बासीको लगत संकलनका लागि कर्मचारी छनौटमा भएको विवाद टुङ्गिएको छ । नगरपालिकाले प्रबिष्टिकर्ता र तथ्याङ्क संकलनमा मनोमानी रुपमा आ आफ्ना आसेपासेलाई छनौट गरेको भन्दै दलित अगुवाहरुले बिरोध जनाएपछि भएको विवाद समानुपातिक समावेशिताका आधारमा एक जना दलित, जनजाती, आदिवासी क्षेत्रका कर्मचारी राख्ने सहमति भएसंगै टुङ्गिएको हो ।
नगरपालिकाले १२ जना कर्मचारी छनोट गरेकोमा त्यसमा एक जना पनि दलित, जनजाती, आदिवासी क्षेत्रबाट नपरेपछि दलित समुदायका अगुवाहरु बिरोधमा उत्रिएका थिए । आज बिरोधमा उत्रिएका दलित अगुवा र गोदावरी नगरपालिका बिच सो बिषयमा सहमति भएको हो ।
नगरपालिकाकाले प्रबिष्टिकर्ता र तथ्याङ्क संकलक मद्ये कुनै एक पदमा एक दलित, जनजाती, आदिवासी क्षेत्रबाट कर्मचारी राख्ने सहमति भएको दलीत अगुवा बाजी कामीले बताए । उनले नगरप्रमुख हरी सिं साउँदले एक जना दलित समुदायको प्रतिनिधित्व गराउने मौखिक सहमति जनाएको बताए ।
गोदावरी नगरपालिकाले दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरेकाहरुको लगत संकलनका लागि प्रबिष्टिकर्ता ४ जना र तथ्याङ्क संकलन ८ जना छनोट गरेको थियो । जसा प्रबिष्टिकर्ताका लागि २२ जना र तथ्याङ्क संकलनका लागि ४४ जनाले दरखास्त दिएका थिए ।
गोदावरी नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत बसन्त कुमार खत्रीले नयाँ छनोट भएका कर्मचारीले बिहिबार नियुक्ती पाउने बताए ।
उनले १ जना थप गर्ने बिषयमा प्रक्रिया पुगाउनु पर्ने भएकाले केहि समय लाग्न सक्ने बताए । कर्मचारी छनौटको बिषय बिवादित बनेपछि नयाँ छनोट भएका कर्मचारीले नियुक्ती पाएका थिएनन् । जसका कारण काम प्रभावित भई नगरपालिकाले तथ्याङ्क संकलनको कार्य अगाडी बढाउन सकेको छैन ।