बझाङ - बचत गर्न भनेर बाठपाला प्राथमिक विद्यालय तलकोटमा अध्ययनरत छोरीले १० रुपैयाँ माग्दा बुबा महाविरे सार्कीलाई अनौंठो लागेको थियो । दश रुपैयाँ बचत गरेर के होला र भन्ने सोचेका उनले छोरीको ढिपी पूरा गर्न दिएको सो पैसा आपत्मा काम लागेको छ ।
करिश्मा जस्तै सो विद्यालयमा अध्ययनरत ११० छात्र र छात्राले गरेको बचत अहिले कोभिड १९ का विपत्मा सुरक्षित तरिकाले विद्यालय सञ्चालन गर्न काम लागेको छ । गाउँपालिकामा अन्य विद्यालय बन्द रहेका बेला पनि सञ्चालनमा रहेको सो विद्यालयमा पढ्ने विद्यार्थीलाई कोरोनाको डर छैन ।बालबालिकाले स्थापना गरेका बालकोषमा जम्मा रकमले कोभिड सुरक्षाको लागि आवश्यक मास्क, स्यानिटाइजरलगायत कोभिड सुरक्षा सामग्री किनेर विद्यालय निर्बाध सञ्चालन भएको छ । कोराना महामारीका कारण गतचैतदेखि बन्द भएका तलकोट गाउँपालिकाका विद्यालय गत असोजमा खुले ।
विद्यालय खुलेपनि कोरोनाको जोखिम कायमै थियो । यद्यपि विद्यार्थीसँग डराइडराइ विद्यालय जानुको विकल्प थिएन । कतिपय विद्यालय महामारीको डरका कारण अझै राम्रोसँग सञ्चालन हुनसकेका छैनन्।सो प्राविमा पनि सुरुका केही दिन यस्तै समस्या भयो । कक्षा ५ मा अध्ययनरत बाल क्लबका अध्यक्ष राकेश सार्कीले भने “चार पास भएर ५ कक्षामा गएकोमा मनमा खुशी त थियो । कोराना लागेर मान्छे मरिरहेको खबर रेडियोमा सुन्दा स्कुल जान डर पनि लाग्थ्यो ।”उनले कोरोनाका डरले धेरै विद्यार्थी विद्यालय आउन छोडेपछि शिक्षक र बाल क्लबले सल्लाह गरेर कोषको रकमबाट कोभिड सुरक्षा सामग्री किन्ने निर्णय गरेको बताए । कोषमा जम्मा भएको करिव रु ११ हजारले विद्यार्थीलाई ६ महिनासम्म पुग्ने गरी माक्स, स्यानिटाइजर खरीद गरियो ।
प्रत्येक विद्यार्थीले माक्स लगाउन थाले र जोखिमपूर्ण अवस्थामा स्यानिटाइजर प्रयोग गर्न थालेपछि सबै जना ढुक्क भएर विद्यालय जान थालेका कक्षा ५ मा अध्ययनरत छात्रा वन्दना सिंहले बताइन् । उनले भने “बाल क्लबले माक्स र स्यानिटाइजर दिएपछि विद्यालय नआउने पनि ढुक्क भएर विद्यालय आउन थाले । अहिले हामीलाई कुनै डर छैन ।”उनले अहिले विद्यार्थीमा सरसफाइ गर्ने बानीको विकास हुनुको साथै विद्यालय आउदा माक्स लगाएर आउने र विद्यालयमा स्यानिटाइजर लगाई कक्षा कोठाभित्र जाने गरेको बताइन् । विसं २०७५ वैशाखबाट यहाँका विद्यार्थीले बालकोषको रुपमा मासिक १० रुपैयाँ जम्मा गर्न थालेका थिए ।
गैरसरकारी संस्था एकीकृत विकास समाज नेपाल ९आइडिएस० को सहजीकरणमा बाल क्लब गठन गरेर कोषको सुरुआत गरिएको थियो । कोषमा जम्मा भएको रकमले बालबालिकालाई विद्यालयमा आउने ससाना समस्याको समाधान गर्न सहयोग गर्ने उद्देश्य राखिएको थियो ।
बाल क्लबमा आवद्ध विद्यार्थीलाई सरसफाइ सम्बन्धी सचेतना जगाएर उनीहरु मार्फत् समुदायमा सरसफाइ अभियान चलाउनका लागि यस्तो गरिएको थियो । अभिभावक महावीरे सार्कीले भने, “१० रुपैयाँले के गर्ने होलान भन्ने ठानेको थिएँ । अहिले त्यही रकम आपत्मा काम लागेको छ । सबै भन्दा ठूलो कुरा हामीले सरसफाइ गर भनेर सिकाउनु पर्ने बालबालिका उल्टै हामीलाई सरसफाइ गर्न सिकाउँछन् । बालबालिकाहरुमा आएको परिर्वतन देखेर औधी खुशी लागेको छ ।”
संस्थाले यहाँका शिक्षक तथा बाल क्लबमा आवद्ध बालबालिकालाई सरसफाइ सम्वन्धी नियमित सचेतना कार्यक्रमपछि समुदाय सरसफाइमा पनि राम्रो प्रभाव परेको छ । महिनामा एक पटक सो संस्थाले सरसफाइ सचेतना कार्यक्रम गर्ने गरेको छ ।
यसले बालबालिकाका बानीमा धेरै परिर्वतन भएको छ । विद्यालयका प्रधानाध्यापक वसन्त विकले भने, “केटाकेटीले विद्यालयमा मात्रै होइन, आफ्नो घरमा पनि सरसफाइका कुरा सिकाउन थालेका छन् । पहिला फोहर हुने बच्चा पनि अहिले चिटिक्क परेर स्कुल आउन थालेका छन ।”बाल क्लबमा आवद्ध भइसकेपछि विद्यार्थीको नेतृत्व विकास समेत भएको छ । बालबालिका विभिन्न अतिरिक्त क्रियाकलाप गरेर क्षमता विकास गर्ने गरेका छन् । प्रत्येक शुक्रबार क्लबले हाजिरी जवाफ, वक्तृत्वकला र अन्य खेलकूदका कार्यक्रम आयोजना गर्ने गरेको छ ।
गाउँमासमेत विद्यार्थीले कोभिड १९ बाट बच्ने उपाय र सरसफाइको बारेमा कुरा गर्ने गरेका छन् । उनीहरु शिक्षक अभिभावको साथ लिएर विद्यालयलाई पूर्ण सरसफाइ युक्त विद्यालय बनाउने र बालकोषबाट प्रत्येक कक्षाकोठामा डस्टबीनको व्यवस्था गर्ने अन्य सरसफाइ सामग्री खरीद गर्ने योजनामा रहेको क्लबले जनाएकोे ।
तलकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज भण्डारीले बालबालिकाका आफ्नै पहलमा भएको काम पालिका भरिमै नमूनाको रुपमा रहेको र अरु विद्यालयले पनि यस्तै अभ्यास गर्न थालेको जानकारी दिए । शिक्षक, अभिभावक र विद्यार्थीले चाहेमा नहुने भन्ने केही रहेनछ भन्ने गतिलो उदाहरण बनेको छ विद्यालय ।सानातिना कामको लागि पनि पालिकाकै मुख ताक्नेलाई सो विद्यालयले गतिलो जवाफ दिएको छ । उनले गाउँपालिकाले यो कामलाई अन्य विद्यालयमा पनि लागू गर्ने र सबै विद्यालयमा बाल क्लब गठन गर्ने तयारी गरेको जानकारी दिए ।रासस