अत्तरिया -कैलाली कन्चनपुरमा उत्पादन भएको क्यामोमाईल तेलमा रसायनिक मल र बिसादी फेला परेको छ । बिसादीका कारण उत्पादन भएको क्यामोमाईल तेल बिक्रि हुन नसकेको वनस्पति अनुसन्धान केन्द्रका बरिष्ठ वैज्ञानिक अधिकृत लक्ष्मण झाले बताएका छन् । शनिबार अत्तरियामा सम्पन्न एक दिने जडिबुटी उत्पादक संकलक तथा व्यपारी बिचको अन्तरक्रिया कार्यक्रमा बोल्दै वरिष्ठ बैज्ञानिक अधिकृत झाले किसानहरुले क्यामोमाईल उत्पादन गर्ने क्रममा बढी रसायनिक मलको प्रयोग गरेका कारण बिक्रिका लागी समस्या भएको बताए । ‘क्यामोमाईल तेलको मुख्य बजार जर्मन लगायत युरेपियन देश हुन ।
विदेशमा बिक्रि गर्नु पुर्व ल्याव परिक्षण गर्नु पर्ने हुन्छ तर ल्याव परिक्षणमा रसायनिक तत्वको मात्रा बढी भेटिएकाले तत्काल क्यामोमाईल तेल लिन मानेका छैनन ।’, वरिष्ठ बैज्ञानिक अधिकृत झाले भने –‘ क्यामोमाईल औषधिजन्य बस्तु भएकाले यसमा रसायन मल र बिषदि प्रयोग गरिदैन तर केहि किसानहरुले बढी उत्पादन लिने सोचले रसायनिक मल प्रयोग गरिदिदा अहिले सम्पुर्ण किसान समस्यामा परेका छन ।’ उनले क्यामोमाईलको तेलको बिक्रिका लागी बिदेशको बजारमा भर पर्नु पर्ने भएकाले तेलको गुणस्तरमा समस्या आउँदा बिक्रिमा समस्या आउने गरेको बताए । उनले क्यामोमाईल तेलको खरिद गर्ने मुख्य राष्ट्र जर्मनमा तेलको स्याम्पल पठाउँदा अन्य देशको तुलनामा नेपालको तेलको गुणस्तर कम पाईएकाले तेल जर्मनले किन्न नमानेको बताए ।
उनले नेपालको क्यामोमाईल तेलमा गुणस्तर कम पाईए पनि गुणस्तरहिन भने नभएकोले अब केहि दिनमा नै अन्य खरिदकर्ताहरु संग छलफल गरेरै भए पनि बिक्रि गरिने बताए । तेल राम्रो भाडोमा ३ बर्ष सम्म पनि सुरक्षित राख्न सकिने भएकाले तेल बिग्रीहाल्छकि भनेर अहिले नै नआत्तिन उनले किसानहरुलाई आग्रह गरे । कार्यक्रममा बोल्दै सहायक वन अधिकृत सेर सिह भण्डारीले जडिबुटी जन्य जुन सुकै उत्पादनमा पनि रसायनिक पदार्थको प्रयोग गर्दा बिक्रिका लागी समस्या हुने बताए । उनले जडीबुटी आफैमा औषधि भएकाले रसायनिक पदार्थको प्रयोग नगर्न किसानहरुलाई आग्रह गरे ।
त्यस्तै नेपाल जडिबुटी व्यवसायी संघ कैलालीका अध्यक्ष दिपक राज भट्टले किसानहरुलाई बढी उत्पादन लिने कुरामा मात्रै ध्यान नदिएर गुणस्तरीय उत्पादनमा पनि ध्यान दिन आग्रह गरे । उनले अहिले गुणस्तरमा आएको समस्याका कारण बिक्रि हुन नसकेकाले आगामि दिनमा यस्ता कुरामा ध्यान दिनु पर्ने बताए । तेल बिक्रिको लागी बिभिन्न निकायहरु संग पहल भईरहेकाले छिटै उत्पादित तेल बिक्रि हुने भएकाले किसानहरुलाई हतोत्साहिन नहुन आग्रह अध्यक्ष भट्टले आग्रह गरे । उनले राज्यले नै जडीबुटी क्षेत्रको निति निर्माण र बजारीकरणमा ध्यान दिन नसक्दा जडीबुटी क्षेत्रमा लागेका किसान व्यपारी समस्यामा पर्ने गरेकाले राज्यले यसमा ध्यान दिन आवस्यक रहेको बताए । नेफक कैलालीका अद्यक्ष टिकादत्त जोशीले रसायनिक मल कुनै पनि कृषि उत्पादनका लागी हानिकारक भएकाले स्थानिय स्तरमा पाईने गोवर मलको प्रयोग बढाउनमा जोड दिनु पर्ने बताए । उनले अहिले मानिहरुले मलको श्रोत गाईगोरु छाडा रुपमा बजारमा छाड्ने र बजारबाट रसायनिक मल ल्याएर खेतमा प्रयोग गर्ने बानिले समस्या आएको बताए ।
किसानहरु मारमा
अन्तरक्रिया कार्यक्रममा सहभागी किसानहरुले आफुहरुले बजारमा बिक्रि भईहाल्छ भन्ने आसमा खेती गरेकोले बिक्रिका लागी पहल गरिदिन सरोकारवाला निकायहरु सग आग्रह गरेका थिए । गौरिगंगा नगरपालीका १ का किसान गोबिन्द रावलले राज्यले किसानले उत्पादन गरेको जडीबुटी बिक्री हुने ग्यारेन्टि गर्नु पर्ने बताए । ‘१ बिगा क्यामोमाईलको खेती गर्दा २० देखी ३० हजार खर्च हुने गर्दछ । यस खेतिमा किसानहरुको लाखै लगानी लागेको छ ।,' रावलले भने – ‘राज्यले एकातिर खेति गर्न प्रोत्साहन पनि गर्ने अर्कोतर्फ बिदेशमा माग भएन भनेर बिक्रि भएन भन्नु राज्यको गैरजिम्मेबारी हो ।’
डिभिजन वन कार्यालय कैलालीको आयोजनामा भएको जडिबुटी उत्पादक संकलक तथा व्यपारी बिचको अन्तरक्रिया कार्यक्रमा जडीबुटी किसान , व्यपारी , संकलन लगायत ३० जनाको सहभागीता रहेको थियो । जडीबुटी व्यवसायी संघ कैलालीले सहजिकरण गरेको कार्यक्रमको संचालन महेश महरले गरेका थिए ।
कैलाली कन्चनपुरमा २ करोडको क्यामोमाईल तेल उत्पादन
वनस्पति अनुसन्धान केन्द्र कैलालीका अनुसार यस बर्ष कैलाली कन्चनपुमा करिब ४ सय केजि क्यामोमाईल तेल उत्पादन भएको छ । उक्त तेल करिव २ करोड बरावर मुल्यको हुने कार्यालयले जनाएको छ । गत बर्ष ५० हजार देखी ५५ हजारमा बिक्रि भएको क्यामोमाईलको तेल यस बर्ष उत्पादन भएको ३ महिना बितिसक्दा पनि बिक्रि हुन सकेको छैन । गहँु खेतिको बिकल्पका रुपमा खेती गरिने क्यामोमाईल बाट गहुँ खेती भन्दा राम्रो फाईदा लिन सकिने भए पनि बिक्रिका लागी भने अन्तराष्ट्रिय बजारमा भर पर्नु पर्ने भएका कारण मुल्यमा उतार चढाव हुँदा किसान समस्यामा पर्ने गरेका छन । कैलाली कन्चनपुरमा किसानहरुले उत्पादन गरेको क्यमोमाईल बिगतका बर्षहरुमा सहज रुपमा बिक्रि हुदै आएको भए पनि यस बर्ष भने क्यामोमाईल तेलमा रसायनिक तत्व भेटिएका कारण बिक्रि गर्न समस्या भएको हो । क्यामोमाईलको खेती कैलालीका टिकापुर , चौमाला , धनगढी उप महानगरपालीका र कन्चनपुरको दोधरा चाँदनि , बेलौरीको रामनगर , जुडा र बैतडा क्षेत्रमा बढी मात्रामा हुने गरेको छ । तराई क्षेत्रमा खेती गर्न सकिने क्यामोमाईल प्रसोधनका लागी शुदूरपश्चिम प्रदेशको कैलाली र कन्चनपुरमा १६ ओटा भन्दा बढी उद्योग गरेका छन ।