अत्तरिया - सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरुमा हिमपात सहित वर्षा भएको छ । बाजुरा , बैतडी, बझाङ, डडेल्धुरा लगायतका जिल्लाका उच्च हिमाली तथा लेकाली भेगमा गएराति वर्षासहित हिमपात भएको हो ।
बाजुराको बडिमालिका , बूढीन्दा, त्रिवेणी नगरपालिका, गौमुल, स्वामिकार्तिक गाउँपालिका, पाण्डव गुफा र हिमाली गाउँपालिकाको माथिल्लो क्षेत्रमा हिमपात भइरहेको छ भने तलो क्षेत्रमा वर्षा भइरहेको छ ।
यस्तै बैतडीको श्रीभावर, ढोल्यामोड, खोड्पे, अनारखोली, बझाङको बित्थड र डडेल्धुरामा वर्षासँगै हिमपात भएको हो भने बाजुराका उच्च हिमाली भेगमा समेत हिमपात भएको छ ।
भारी हिमपातसँगै अत्याधिक चिसो बढेकाले त्यहाँको जनजीवन कष्टकर भएको छ । बाक्लो हिमपातका कारण किसान उत्साहित र खुशी हुदाँ व्यापारी भने चिन्तित भएका छन् । समयमै हिमपात र वर्षा नहुँदा खेतमा लगाइएका हिउँदेबाली सुक्ने भए भन्दै किसान चिन्तित बनेका थिए ।
मङ्सिरबाट हिमपात हुनुपर्नेमा यो वर्ष माघ महिनामा मात्र हिमपात भएको छ । यद्धपी ढिलै भएपनि वर्षा सँगै हिमपात हुन थाले पछि किसान खुशी भएका हुन् ।
लामो समय सम्म पानी नपरेपछि लगाएका हिउँदेबाली खेतमै सुक्ने भनेर चिन्तित बनेका यहाँका किसान बर्षासँगै हिमपात हुन थालेपछि अब बाली सप्रिने भन्दै उनीहरु उत्साहित भएका छन् ।
निरन्तर हिमपात भइरहेकाले गाइबस्तु गोठभन्दा बाहिर निकाल्न सकिएको अवस्था छैन् । चिसोको मार बालबालिका र वृद्धवृद्धामा बढी देखिएको हो ।