डडेल्धुरा - जिल्लामा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण भएको छ। बिहीबार जिल्लाको गन्यापधुरा गाउँपालिका १ भातकाँडा बजारमा ड्युटीमा खटिएका भातकाँडा प्रहरी चौकीका इन्चार्ज अम्मरबहादुर कठायतमाथि आक्रमण भएको हो।
बजार बन्द गराउँदै हिँडेका नेकपा प्रचण्ड–माधव समूहका कार्यकर्ताहरूलाई बजार बन्द नगराउन भनेपछि उनीहरूले कठायतमाथि ढुंगा प्रहार भएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।
इन्चार्ज कठायत बजारमा गस्तीमा रहेका समयमा बन्दकर्ताहरूले लुकेर डाँडाबाट हानेको ढुंगाले उनको खुट्टामा सामान्य चोट लागेको डीएसपी नेपालले बताए। आक्रमण गर्नेहरुको खोजी कार्य भइरहेको उनले बताए।