दार्चुला - दार्चुलाका सबै स्थानीय तहहरु सडक सञ्जालमा जोडिएका छन् । जिल्लाको अपी हिमाल, व्यास, दुहु र लेकम गाउँपालिकामा यसै वर्ष सडक यातायातको पहुँच पुगेको हो ।
यस सँगै दार्चुलाका ९ वटै स्थानीय तहमा सडक यातायातको पहुँच पुगेको छ । व्यासको केन्द्र सुन्सेरा, लेकम र अपी हिमाल भौगोलिक रूपमा विकट छन् । यस अघि अन्य स्थानीय तहसडक सञ्जालमा जोडिसकेका थिए । अब जिल्लाका सबै स्थानीय तह सडक सञ्जालमा जोडिएको नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामीले बताए ।
मार्मा र नौगाड गाउँपालिकाका विकट बस्तीमा सडक निर्माण भइरहेको छ । स्थानीय तहले सडकलाई पहिलो प्राथमिकतामा राखेपछि यातायातको पहुँच पनि बढ्दै गएको हो । नौगाडका विभिन्न बस्ती जोड्ने गरी सडक निर्माण भैरहेको अध्यक्ष धामीले बताए । शैल्यशिखर नगरपालिकामा सबैभन्दा बढी सडक निर्माण भएका छन् । उक्त नगरपालिकामा नगरपालिका र प्रदेश सरकारले ग्रामीण सडक निर्माण गरिरहेका हुन । व्यास गाउँपालिकाको सुन्सेरा सदरमुकामदेखि ३३ किमि दूरीमा पर्छ ।
ग्रामीण बस्तीसम्म सडक पुगेपछि स्थानीय हर्षित भएका छन् । व्यास गाउँपालिकाको मुख्य सडक पनि यही हो । गाउँपालिकाले हालसम्म अन्य शाखा सडक बनाएको छैन । यो सडकले व्यास गाउँपालिकाका सिना र राप्लाबाहेक अन्य सबै गाउँ जोड्ने भएकाले शाखा सडक आवश्यक नभएको स्थानीय बताउँछन् ।
अहिलेको सडकमा सुधार गरी ग्रेड मिलान गर्न सके यातायात सञ्चालनमा सजिलो हुने जिप व्यवसायीहरु बताउदछन् । तिंकर सडकले श्रीबगड, ब्रह्मदेव, धारी, हिकिला, पिपलचौरी, हुती, धौलाकोट, सुन्सेराका दर्जनौं बस्ती जोडेको छ ।