धनुषा (ढल्केबर) - प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको ढल्केबरमा निर्माण भएको देशकै पहिलो स्वचालित ४०० केभी सबस्टेसनको अपरान्ह साढे उद्घाटन गरेका छन् । गत कात्तिक २६ गतेदेखि सञ्चालनमा आएको सबस्टेसन उद्घाटन गर्न प्रधानमन्त्री ओली ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीका साथमा हेलिकोप्टरमा ढल्केबर पुगेका हुन् ।
‘सबस्टेसन सञ्चालनमा आउनु विद्युत् आपूर्ति, निर्यात र औद्योगिकीकरणमा कोसेढुंगा साबित हुनु हो,’ प्रधानमन्त्री ओलीले भने, ‘यसरी नै विद्युत् तथा यससँग सम्बन्धित पूर्वाधारको निर्माण गर्दै २०८० सालसम्म भारतबाट विद्युत् किन्ने अवस्था अन्त्य गर्न सकिन्छ/हुन्छ ।’
यो सबस्टेसनले बिजुली किनबेचसँगै प्रसारण तथा वितरण प्रणालीलाई थप दरिलो बनाउने उनले बताए । सुनकोसी–मरिन बहुउदेश्यीय आयोजनाबाट समेत २८ मेगावाट विद्युत् उत्पादन गर्न सकिने हुँदा यसले तराई, पहाड र हिमाललाई जोड्ने प्रधानमन्त्रीको तर्क थियो ।
यसैगरी, ऊर्जा मन्त्री रायमाझीले सबस्टेसन सञ्चालनमा आउनुलाई उज्यालो नेपाल अभियानको सफलतासँग जोडे । यसले देशको मुहार फेरिने हुँदा यो एउटा ऐतिहासिक उपलब्धि रहेको पनि उनले बताए । ‘ऊर्जा आयात–निर्यातमा महत्त्वपूर्ण भूमिका खेल्दै अल्पकालीन र दीर्घकालीन रूपमा गुणस्तरीय सेवा प्रवाहमा सबस्टेसनले बलिया आधार हुनेछ,’ उनले भने ।
नेपाल–भारत रणनीतिक महत्त्वको सबस्टेसन भएको हुँदा भारतका तर्फबाट पावर ग्रिड कर्पोरेशन अफ इन्डियाका महाप्रबन्धक कञ्चन चौधरी लगायतको टोली सहभागी छ । यो सबस्टेसन तथा ढल्केबर–मुजफ्फरपुर सीमापार ४०० केभी प्रसारण लाइनले तत्काल र दिगो विद्युत् आपूर्तिको समस्या समाधान गर्ने चौधरीले बताए । ‘यो काम दुवै देशको रणनीतिक र सामरिक महत्त्वका लागि ऐतिहासिक फड्को हो,’ उनले भने ।