अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाको वडा नं १ को कार्यालय आफ्नै भवनमा सरेको छ । यसअघि आफ्नो भवन नहुदाँ भाडाको घरमा संचालनमा रहेको वडा नं १ को कार्यालय आजदेखी आफ्नै भवनमा सरेको हो ।
अत्तरिया स्थित धनगढी रोडमा निर्माण भएको नवनिर्मित भवनको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिंह साउँदले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।
नवनिर्मित भवनको उद्धघाटन भएसंगै आईतबार देखि वडाबासीले सेवा लिन पाउने वडा नं १ का वडा अध्यक्ष शर्मानन्द भट्टले जानकारी दिए । उनले वडा कार्यालय आफ्नै भवनवाट संचालन भएपछि सेवाग्राहीहरुलाई सेवा लिन सहज हुने बताए ।
भवन निर्माणका लागि सहयोग गर्ने चाहाना समूदायिक वन, भवन निर्माण उपभोक्ता समिति लगायत अन्य सहयोगि सम्पूर्णलाई धन्यावाद समेत दिए । भवनको उद्धघाटन गर्दै नगरप्रमुख साउँदले गोदावरी नगरपालिका भित्र सबै भन्दा पहिला वडा नम्बर १ को भवन निर्माण सम्पन्न भएको बताए ।
उनले सबै वडाहरुमा आफ्नै भवन निर्माण गर्न खोजेको भएपनि सिमित अधिकार भएका कारण भवन बनाउन नसकिएको बताए । उनले अहिले ९ नम्बर वडाको भवन निर्माणको क्रममा रहेको र अन्य ८ वडाका भवनको पनि छिटै निर्माण प्रक्रिया थालिने बताए । वडा अध्यक्षहरुलाई जग्गा उपलब्ध गराउँन निर्देशन दिईसकेको बताउँदै साउँदले आफ्नो कार्यकाल भित्रमै सबै वडा कार्यालयका भवन निर्माण गरिसक्ने बताए ।
उपप्रमुख रत्ना कडायतले भवन निर्माण कार्य नगरपालिकाकै गौरवको योजना भएको बताईन् । उनले भवन निर्माण पछि वडा कार्यालयबाट दिईने सेवा अझै व्यवस्थित रुपमा संचालन हुने बताईन् । उपभोक्ता समिति मार्फत निर्माण गरिएको ४ कोठे भवन ९१ लाख २७ हजार ७ सय १६ रुपैयाँमा निर्माण गरिएको हो ।
जसमा जिल्ला समन्वय समितिबाट ५० लाख, गोदावरी नगरपालिकाबाट ३० लाख र उपभोक्ता समितिबाट १० लाख २७ हजार ७ सय १६ रुपैयाँ जनश्रमदान रहेको थियो । उक्त भवन निर्माण समितिका अध्यक्ष कैलाल पर्वत जोशी रहेका थिए ।