डोटी – सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय एवं धार्मिकस्थल खप्तड घुम्न जानेहरुका लागि पाँचदिने ‘हेली टुर प्याकेज’ शुरु भएपछि खप्तड पुग्ने आन्तरिक पर्यटक बढ्न थालेका छन् । खप्तडको प्रवेशद्वार झिंग्रानामा रहेको ‘खप्तड होमस्टे’ आयोजना तथा माउण्टेन हेलिकप्टोरको सहकार्यमा उक्त ‘हेली टुर प्याकेज’ शुरु गरिएको हो ।
‘हेलि टुर प्याकेज’ शुरु भएसँगै अहिले खप्तड घुम्न आउने आन्तरिक पर्यटक बढेका र यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने अनुमान गरिएको खप्तड होमस्टेका सञ्चालक दीपकबहादुर खड्काले बताए ।
उनले भने, ‘कोरोनाका कारण खप्तडमा पर्यटक आउन सकेका थिएनन्, अहिले कोरोनाको सङ्क्रमण कम छ र हामीले ‘हेलि टुर’ प्याकेज पनि शुरु गरेपछि पर्यटकहरु आउन थालेका छन्, यहाँको वातावरण नै रमाइलो देखिएको छ ।’
यस प्याकेजअन्तर्गत खप्तड पुग्नका लागि दिपायलबाट प्रतिव्यक्ति रु १० हजार, झिंग्रानाबाट रु आठ हजार, अछामको साफेगर र बझाङको चैनपुरबाट रु १२ हजार तथा कैलालीबाट रु ३० हजार लाग्ने सो आयोजनाका अधिकारीले जनाएका छन् । यस आयोजनाको बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका हुन् ।
त्यस अवसरमाा मुख्यमन्त्री भट्टले खप्तड क्षेत्रको पर्यटकीय विकासका लागि प्रदेश सरकारले ठोस योजना बनाई अगाडि बढेको बताए । उनले भने, ‘खप्तडको विकासका लागि प्रदेश सरकार ठोस योजना ल्याउने तयारीमा छ, चाडै हामी केही नयाँ काम गर्छौं ।’ सुदूरपश्चिम प्रदेशको राजधानी कैलाली र डोटीबाट खप्तड जान हवाइ टिकटको व्यवस्था मिलाइएको आयोजकले जनाएका छन् ।
खप्तड क्षेत्र सुदूरपश्चिम प्रदेशको प्रमुख चिनारी हो । प्रदेशको प्रमुख धार्मिक पर्यटकीय स्थलसमेत रहेको खप्तड घुम्न ‘हेली टुर’ शुरु भएपछि स्थानीयबासीमा खुसियाली छाएको छ । प्याकेज शुरु भएको पहिलो दिन सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टसहित २० जना खप्तड पुगेका थिए ।
साथै यसै दिन अरु ५० जनाभन्दा बढी पर्यटक पनि हेलिकोप्टर मार्फत् खप्तड पुगेको खप्तड पर्यटन विकास समिति डोटीले जनाएको छ । हिउँदे यामको दृश्य कैद गर्न इच्छुक पर्यटकहरूका लागि अहिले खप्तड क्षेत्र निकै मनमोहक भएको खप्तड पर्यटन विकास समितिका अध्यक्ष हर्कबहादुर सिंहले बताए । उनले भने, ‘खप्तड आफैमा सुन्दर क्षेत्र हो, अहिलेको याम (पुसदेखि जेठसम्म) निकै मनमोहक हुन्छ ।
त्यसमा पनि ‘हेली टुर’ प्याकेज शुरु भएकाले पर्यटकलाई झनै राम्रो भएको छ ।’ हेलिकोप्टर मार्फत् खप्तड घुम्नका लागि पाँच किसिमका प्याकेज रहेको बताइएको छ । मनोरम दृश्य अवलोकनसहितको आनन्ददायी यात्रा रहेकोले पर्यटक बढ्ने आयोजकको दाबी रहेको छ ।
सुदूरपश्चिम प्रदेशको मुख्य पर्यटकीय चिनारी रहेको खप्तडको जगेर्ना र प्रचार प्रसार गर्न सके प्रदेशको गरिमा बढ्ने र आयआर्जनको वातावरण सिर्जना हुने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बताइन् । उनले भने, ‘हामीले खप्तडको मात्रै विकास गर्न सके यहाँको आयआर्जनमा उलेख्य विकास हुनेछ, हामी खप्तडको विकासमा लागि परेका छौँ ।’
खप्तड राष्ट्रिय निकुञ्जलाई प्राकृतिक सौन्दर्यताको खानी मानिन्छ । यतिमात्र नभइ खप्तडलाई धर्तीको स्वर्गको उपमा पनि दिइएको छ । सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, अछाम तथा डोटी जिल्लाको संगमस्थलका रुपमा रहेको खप्तडमा २२ वटा घाँसे मैदान अर्थात् पाटन रहेका छन् ।
सुन्दर घाँसे मैदानमा पुग्नेवित्तिकै यात्रीको थकान मेटिन्छ । यसको वरिपरि ५३ वटा थुम्का छन्, जसलाई स्थानीय भाषामा झोती भन्ने गरिएको खप्तडसँग सीमा जोडिएको डोटीको पुर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए । उनका अनुसार खप्तडको मुख्य आर्कषण भनेको त्यहाँका घाँसै मैदान, खप्तड दह, नाग ढुंगा, केदार ढुंगा, खप्तड बाबा आश्रम, शिव मन्दिर हुन् । यो ५० वर्ष पहिले खप्तड बाबाले तपस्या गरेको एक पवित्र ठाउँ पनि हो ।
खप्तड प्रकृति प्रेमीलाई मात्र नभई, धार्मिक पर्यटकलाई समेत उपयुक्त गन्तव्यका रुपमा चिनिदै आएको स्थानीयबासीहरु बताउँछन् । सुदूरपश्चिम प्रदेशको सबैभन्दा प्रशिद्ध गन्तव्यस्थल खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिर सम्मको समय उपयुक्त मानिन्छ । चैत वैशाखमा खप्तड घुम्न गएमा रंगीविरंगी लालीगुराँस फुलेको देख्न पाइन्छ भने अहिलेको समयमा हिउँदे यामको दृश्य अवलोकन गर्न सकिन्छ ।
खप्तडको सबैभन्दा आकर्षक पक्ष हो गंगा दशहरा मेला । प्रत्येक वर्षको जेठ महिनामा यहाँ भव्य मेला लाग्ने गर्छ । सुदूरपश्चिमका नौवटै जिल्लासहित देशभर तथा छिमेकी मुलुक भारतबाट पनि यहाँ भक्तजनको भिड लाग्ने गर्दछ ।
अध्यात्मिक र असाधारण तपस्वीका रुपमा चिनिने खप्तड बाबाले ५० वर्षको तपस्यापछि सुदूरपश्चिमका चार पहाडी जिल्लाको सिमानामा पर्ने खप्तड क्षेत्रलाई ‘भू–स्वर्ग’ को उपनाम दिंदै संसारभर प्रचार गरेका थिए । प्रकृतिले त खप्तड धनी छ नै । धार्मीक रुपले पनि त्यत्तिकै प्रसिद्ध छ ।
खप्तडको त्रिवेणी मन्दिर धार्मिक रुपले महत्वपूर्ण मानिन्छ । गंगादशहराका दिन पूजा गरिने त्रिबेणी मन्दिरमा दर्शनार्थीहरुको ओइरो लाग्ने गर्छ । त्योसँगै खप्तड बाबाको कुटीको पनि विशेष महत्व रहेको छ । भारतको कोलकतास्थित ट्र«पिकल कलेजबाट एमबिबिएस र बेलायतबाट सर्जनको अध्ययन गरेका खप्तड बाबा प्रसिद्ध डाक्टर हुनुहुन्थ्यो ।
तर सन्यास लिएर उहाँले सन् १९४६ मा खप्तड आइ तपस्या गरेको भन्ने विभिन्न किताबहरुमा उल्लेख गरेको पाइन्छ । खप्तड बाबाले तपस्या गरेको स्थान, उहाँले प्रयोग गर्ने लुगाकपडा, सर सामग्री र उहाँको कुटी अहिले पनि सुरक्षित राखिएको छ । पर्यटकीय दृष्टिले खप्तड अत्यन्त उर्वर क्षेत्र हो ।
यहाँ पर्यटक ल्याउन सक्ने हो भने खप्तडको सिमाना जोडिएका बझाङ, बाजुरा, अछाम र डोटीका चार जिल्लाको आन्तरिक आयस्रोतमा ठूलो परिवर्तन आउने खप्तड मध्यावर्ती क्षेत्र विकास समितिका पूर्व अध्यक्ष लालबहादुर बोगटीले बताए ।
उनले भने, ‘सुदूरपश्चिमको विकास गर्न पहिले खप्तड क्षेत्रको पर्यटकीय रुपमा विकास गर्नु जरुरी छ ।’ पर्यावरणीय र धार्मिक पर्यटनसँगै अनुसन्धानकर्ताका लागिसमेत उपयुक्त रहेकोले यो क्षेत्रको विकास जरुरी छ । रासस